त्रिभुवन विश्वविद्यालयले नेसनल मेडिकल कलेजलाई दिइएको विवादित सम्बन्धबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ।
आज विज्ञप्ति निकाल्दै सर्वोच्चको आदेश बमोजिम नै उक्त मेडिकल कलेजलाई सम्बन्धन दिइएको जिकिर त्रिविले गरेको छ। साथै, नेसनल मेडिकल कलेजलाई सम्बन्ध दिनु भन्ने सर्वोच्चको आदेश कार्यान्वयन नगर्नू भन्ने निर्देशन प्राप्त भएमा सम्बन्धनबारे पुनर्विचार गर्न सकिने पनि जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, 'सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न पर्दैन भनी आधिकारिक निकायबाट लिखित निर्देशन प्राप्त भएमा त्रिवि कार्यकारी परिषदको मिति २०७४/४/१२को आदेश निर्णयमा पुनर्विचार गर्न सकिने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।'
चिकित्सा शिक्षा सुधारको माग राखी डा. गोविन्द केसीले अनसन गरिरहेको बेला नै अनुचित रूपमा मापदण्ड पुरा नगरेको अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिएको भन्दै त्रिवि आलोचनामा परेको थियो।
संसदमा नेपाली कांग्रेसका सांसद गगन थापाले सम्बन्धनको विरोधमा संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइसकेका छन्।