करेन्ट लागेर एक महिलाको गए राति मृत्यु भएको छ ।
आफ्नै घरमा टाँगिएको तार चुँडिदा करेन्ट लागेर दुधौली नगरपालिका–५ सिर्थौली निवासी ५५ वर्षीया भीषणवती कोरईको ज्यान गएको जिप्रका सिन्धुलीले जनाएको छ ।
आफ्नै घर वरिपरि काम गरी घरमा फर्कने क्रममा कोरईलाई शौचालयमा लगिएको तारबाट करेन्ट लागेको जिप्रका सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए।
शौचालयमा लगिएको तार चुँडिएर भुइँमा लत्रेको अवस्थामा कोरईको दाहिने हातले तारलाई छुँदा करेन्ट लागेकामा अचेतावस्थामा उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो ।
करेन्टलाई सामान्य ठानेर हेलचेक्र्याइँ नगरी आफ्नो घरको विद्युत् प्रवाहलाई व्यवस्थित बनाउन प्रहरीले आग्रह गरेको छ । साना भुइँघर र फुसको छानो लगाइएका अधिकांश घरमा जुनसुकै बेला करेन्ट लाग्ने जोखिम रहेको स्थानीयवासीले बताएका छन् ।
यसैबीच सिन्धुलीमा गए राति ठूलो मेघ गर्जनसहित जिल्लाका केही भूभागमा वर्षा भएको छ । सिन्धुलीमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको जिप्रका सिन्धुलीले जनाएको छ । सिन्धुली जिल्ला चट्याङका लागि अत्यन्तै जोखिम मानिन्छ । जिल्लाको पूर्वी तथा पश्चिमी क्षेत्रमा वर्षेनी चट्याङकै कारणले ठूलो धनजनको क्षति हुने गरेको छ । रासस