सप्तरीमा हालै आएको बाढीका कारण ७५ विद्यालयमा क्षति पुगेको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार बोदेवरसाई नगरपालिकाअन्तर्गत मैन्हासह श्रवाहुको मयना टोलमा रहेको प्राथमिक विद्यालय र कठोनामा रहेको मदर्सा पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले बताए ।
त्यस्तै अन्य ७३ विद्यालयमा भने विद्यालयका पर्खाल र टिनको छाना खसेको र बालविकासका दिइएको गलैँचा र विद्यालयमा रहेका शैक्षक सामग्रीमा क्षति पुगेको छ ।
राजविराज–१ पडरियामा रहेको देवकोटा निमाविमा बाढीले भवन भत्काउँदा सो विद्यालयमा रहेका शैक्षिक सामग्री पनि पूर्णरुपमा नष्ट भएको छ ।यस्तै भारदहस्थित बिपी माविमा पनि विद्यालय निर्माणका लागि राखिएको ५० बोरा सिमेन्ट, तीन ट्युबवेल, टेबल र कुर्सी पूर्णरुपमा क्षतिग्रस्त भएको विद्यालयका शिक्षक शिवशंकर मण्डलले बताए ।
राप्रवि लोखरममा समेत पर्खाल, गलैँचा तथा शैक्षिक सामग्री नष्ट भएको बताइएको छ । विद्यालयमा बाढी पसेका कारण करिब दुई करोड ४० लाख मूल्य बराबरको क्षति भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा ४१० सामुदायिक विद्यालय छन् ।
बाढी प्रभावित क्षेत्रमा शौचालय
बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिनका लागि सबल नेपाल नामक गैरसरकारी संस्थाले अस्थायी शौचालय निर्माण शुरु गरेको छ । सो संस्थाले बाढीबाट अति प्रभावित डलवा, मैनाकडेरी, रम्पुरा मल्हनिया, त्रिकौल, मधवापुर, सकरपुरालगायत क्षेत्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै अस्थायी शौचालय निर्माण थालेको सबल नेपालका फोकल पर्सन परमेश्वर झाले जानकारी दिए।
जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालय सप्तरी, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रियशन), युनिसेफ तथा आइडिईको सहयोगमा सबल नेपालले करिब ३० अस्थायी शौचालय निर्माण गर्दैछ ।खासगरी बाढीबाट प्रभावित र विस्थापित भई विभिन्न स्थानमा पाल टाँगेर बसेका ठाउँमा सो शौचालय निर्माण गर्न लागिएको हो ।
पछिल्लो पटक बिहीबार र शुक्रबार गरी सप्तरीको दक्षिणी भेगका रम्पुरा मल्हनिया, सकरपुरा, डलुवालगायतका बाढीपीडित अहिले हनुमाननगर कंकालनी नगरपालिका–१४ स्थित कोशी नदीको बाँधमा पाल टाँगेर बसेका छन् ।बाढी प्रभावित क्षेत्रमा सरसफाइका सामग्री, पानी शुद्धीकरणका चक्की, बाल्टिनलगायत सामग्रीसमेत सो संस्थाले वितरण गरेको छ ।
साथै खानेपानी कार्यालयका तर्फबाट पर्याप्त मात्रामा पानी शुद्धीकरण गर्ने औषधिसमेत वितरण गरिएको छ । जिल्लामा सरसफाइमा काम गर्ने निकाय युएनह्याबिट्याट, युनिसेफ, सेभ द चिल्ड्रेन, इनफोलगायतले प्रभावित क्षेत्रमा पानी शुद्धीकरण तथा साबुन पानीले सही तरिकाबाट हात धुनेबारे स्वास्थ्य शिक्षा प्रदान गरेका छन् । रासस