नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्व मंगलादेवी सिंहको २१ औँ स्मृतिदिवसमा आज उनको योगदानको स्मरण गरिएको छ ।
नेपाल महिला संघ काठमाडौँ जिल्लाले मंगलादेवीको सालिक रहेको स्थान शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी मंगलादेवीको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको हो ।
माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी भएको बताए।
नेता सिंहले संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ यो महिला आन्दोलनका कारण भएको उल्लेख गरे।
नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँले महिलाको हकअधिकारका लागि मात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मंगलादेवीको ठूलो भूमिका रहेको चर्चा गरे।
सांसद राज्यलक्ष्मी श्रेष्ठले महिला संघ मंगलादेवी सिंहले देखाएको बाटोमा हिँड्नुपर्ने विचार व्यक्त गरिन्। महिला संघ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीले महिलाले भोट हाल्न पाउनुपर्छ र पढ्न पाउनुपर्छ भनेर अधिकारका लागि आवाज उठाउने महिला नेत्री मंगलादेवी भएको बताइन्।
महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेलाभई महिला संघको स्थापना भएको थियो । रासस