पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिले भरतपुर महानगरपालिका–१३ को पटियानीका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ ।
सो अवसरमा ४३ घर परिवारलाई खाद्यान्न, म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा ५९ जना विद्यार्थीलाई पोशाक र सिलाइ खर्चसहित तीन लाख रुपैयाँभन्दा बढीको राहत सामग्री प्रभावित क्षेत्रमा पुगेर वितरण गरेको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बाढीपीडितलाई राहत सामग्री वितरण गर्दै नगरपालिकाले बाढीको तथ्यांक संकलन गरी विभिन्न तीन चरणमा समस्या समाधान गर्ने तयारीमा जुटेको जानकारी दिइन्।
नगरपालिकाका महत्वपूर्ण पर्यटकीयस्थानमा पर्यटन प्रवद्र्धन गरी स्थानीय जनताको आर्थिक समृद्धिसँग जोड्ने बताउँदै उनले सहकार्यका लागि पोखराका पर्यटन व्यवसायीसँग आग्रह गरिन्।
कार्यक्रममा उपप्रमुख पार्वती शाहले बाढीका कारण दुःखमा परेकालाई निःस्वार्थ र पवित्र भावनाले मलमपट्टी लगाएर पोख्रेली पर्यटन व्यवसायीले ठूलो गुन लगाएको बताइन्।
प्राकृतिक सहयोग समितिका संयोजक गणेशबहादुर भट्टराईले पोख्रेली पर्यटन व्यवसायीले संकलन गरेको लगभग २४ लाख बराबरको राहत सामग्री चितवनको सौराहा बच्छौली, गोलाघाट जितपुर, माडी नगरपालिका र नवलपरासीको सुस्तालगायतका विभिन्न स्थानमा वितरण गरिएको जानकारी दिए।
उनका अनुसार छुट्टाछुट्टै चार टोलीमार्फत वितरण गरिने राहत सामग्रीमा तत्काल आवश्यक चामल, तेल, नून, दाल, म्याट्रेस, झुलसहित एक हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिएको हो ।
बाढीबाट ठूलो क्षति नभए पनि स्थानीय बासिन्दाले संकलन गरेर राखेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा बगाउँदा जीविकोपार्जनमा अप्ठ्यारो परेको स्थानीय बासिन्दाले गुनासो गरेका थिए । रासस