खरका छाना भएका घरलाई पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अनुदान दिने भएको छ ।
पुरानो शैलीमा निर्माण गरिएका खरका छानाका घर बर्सेनि छाना छाउनुपर्ने झन्झट रहेकाले खरको छाना विस्थापन गर्ने लक्ष्यका साथ पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अनुदानको व्यवस्था गरेको हो ।
प्रतिघर १५ हजार रुपैयाँका दरले खरका छाना विस्थापन गर्न सहयोग पुगोस् भन्ने हेतुले गाउँपालिकाले अनुदान दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । यस आवमा प्रत्येक वडाका २५ वटा खरको छाना भएका घरलाई १५ हजार रुपैयाँका दरले २०० घरलाई अनुदानको व्यवस्था गरेको अध्यक्ष कार्कीले जानकारी दिए।
गरिबी निवारण कार्यक्रमअन्तर्गत आगामी पाँच वर्षभित्र खरका छाना विस्थापन हुने योजना गाउँपालिकाले लिएको छ । गरिब र निमुखा परिवारले वर्षेनी खरको छाना लगाउन आर्थिकरुपमा समस्या हुने र घरमा पानी पनि चुहिने समस्या रहेको छ । रैनादेवी छहरा गाउँपालिकाभित्रका प्रत्येक वडालाई खरको छाना मुक्त घर बनाउने लक्ष्यका साथ यो अभियान सञ्चालनमा ल्याएको अध्यक्ष कार्कीले बताए।
आर्थिकरुपमा पछाडि परेका विपन्न, गरिब, दलित समुदाय गाउँपालिकाले खरका छाना विस्थापन गर्न गाउँपालिकाको अनुदान पाउने भएपछि खुशी छन् । पछिल्ला वर्ष खरको छाना हाल्न कामदार, खर चोया, काठको समेत वर्षेनी अभाव बढेको छ ।
ढुंगा माटाका भित्ता, तलामा माटो र छाना खरको हुने भएकाले गर्मी र जाडोमा असर नगर्ने बसोबासलाई अति उत्तम रहे पनि खर्चको हिसाबले महँगो र आगोबाट सधैँ जोखिममा रहेको स्थानीय बासिन्दा पोषण रानाले बताए । रासस