राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त भनी पहिचान भएका बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ। प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगाजमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो।
प्राधिकरणले यसरी लाभग्राही सूचीमा राखेकाहरुमा गंगाजमुना गाउँपालिका वडा नम्बर १ री गाउँका ल्बेक लामा तामाङ, नेम बहादुर तामाङ, सुतमान तामाङ, बल बहादुर तामाङ र चम बहादुर तामाङ छन्।
त्यस्तै सोही गाउँपालिकाका २ नम्बर वडाका भूकम्प प्रभावितहरुमा रामबहादुर तामाङ, शिर्वा तामाङ, गंग बहादुर तामाङ, फर्वा लामा तामाङ, दाइ बहादुर तामाङ छन्। त्यस्तै, रक्से लामा तामाङ, मनोज तामाङ, जल बहादुर तामाङ, डेमे लामा तामाङ, सुन बहादुर तामाङ, अमृत तामाङ र खम्बा लामा तामाङ पनि लाभग्राहीको सूचीमा परेका छन्।
यस्ता जोखिमयुक्त बस्तीबाट स्वच्छिक रूपमा सुरक्षित स्थानमा सर्न चाहने लाभग्राहीलाई प्राधिकरणको सिफारिसमा सरकारले घडेरी किन्न २ लाख रुपैयाँ अनुदान दिन्छ। बाँकीलाई उपयुक्त जग्गा व्यवस्थापनका लागि पहल गर्न प्राधिकरणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ।
जोखिमयुक्त बस्तीका बासिन्दालाई जतिसक्दो छिटो सुरक्षित ठाँउमा स्थानान्तरण गर्ने पहल स्वरुप तत्कालका लागि १७ घरपरिवारलाई लाभग्राही सूचिमा समावेश गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताए।
उनीहरुले जग्गा खरिदका लागि दुई लाख र निजी आवास पुनर्निर्माणका लागि थप ३ लाख रुपैयाँ समेत पाउनेछन्।
प्राधिकरणले हालसम्म १ सय ३६ बस्ती स्थानान्तरण गर्नु पर्ने भनी निक्र्यौल गरेको छ। ती मध्ये ६० बस्ती पूर्ण रूपमा र बाँकी आंशिक रुपमा सार्नु पर्ने देखिएको छ। ती १ सय १६ बस्तीमा २३ सय ६१ घरधूरी रहेका छन्।
प्राधिकरणले पहिलो चरणमा पाँच जिल्लाका पाँच जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाँउमा स्थानान्तरण गरी नमूना एकीकृत बस्ती निर्माण गर्ने प्रक्रिया पनि अघि बढाएको छ । त्यसमा गोरखाको केरौंजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्टे, नुवाकोटको उर्लेनी र दोलखाको बोसिम्पा छन्।