नायक राजेश हमालले सर्लाहीका बाढी र डुबान पीडितलाई राहत वितरण गरेका छन्। उनले सर्लाहीका सकरौल शिवनगर, बिनगर्राका बाढी पीडितलाई राहत वितरण गरेका हुन्।
सर्लाहीको सकरौल, सिवनगर, बिनगर्राका पीडितले राहत नपाएको भन्ने समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि उनी आफैँ राहत बोकेर काठमाडौंबाट सर्लाही पुगेका हुन्।
उनीसँगै सामाजिक अभियन्ता नविन यादव र सहयोगी राम ठाकुर राहत सामग्री वितरण गर्न सर्लाही पुगेका हुन्।
सर्लाहीका बाढी र डुबान पीडित राहत पाउँदा निकै खुसी देखिएका थिए। हमालले करीब १ सय ५० घर परिवारलाई राहत वितरण गरेका थिए। उनले प्रतिपरिवार २० किलो चामल, ५ किलो दाल, १ लिटर तेल, चाउचाउ र वृद्धवृद्धालाई ओढ्ने वितरण गरेका छन्।
हमालले पीडितलाई सामाजिक सुरक्षा वापतको भत्ताका लागि समेत पहल गर्ने आश्वासन दिएका थिए।
राहत वितरण गर्नुभन्दा अगाडि उनले पीडित परिवारको घर घरमा गएर गुनासो सुन्ने र घरमा भएको क्षतिको निरीक्षणसमेत गरेका थिए ।