पशुपति नाथ मन्दिर परिसरमा यहि भदौ १५, १६ र १७ गते अन्तर्राष्ट्रिय सनातन हिन्दु सम्मेलनको आयोजना गरिने भएको छ ।
सनातन संस्कृति समाज नेपालले मंगलबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा सनातन संस्कृति समाजका संयोजक हरिबोल भट्टराईले नेपाललाई जसरी पनि सनातन हिन्दुराज्य घोषणा गर्ने अठोट व्यक्त गर्दै भने,‘नेपाल हिन्दुराज्य बन्नेमा शंका छैन्, जनता हिन्दुराज्यको पक्षमा छन्, आगामी निर्वाचनमा कांग्रेसले सनातन हिन्दुराज्यको एजेण्डालाई लिएर अघि गएमा जनताले बहुमत दिन्छन् ।’
संयोजक भट्टराईले यो सम्मेलनले सबै राजनीतिक दललाई हिन्दुराज्यको पक्षमा उभिन बाध्य पार्ने दाबी गर्दै हिन्दु राष्ट्र बनाउने अभियानलाई निरन्तर रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन बास्तोलाले नेपाललाई सनतान हिन्दुहरूको आस्थाको केन्द्र भएकोले यसलाई कायम राख्न सबै एकजुट भएर अभियान चलाउनुपर्ने आवश्यकता औँल्याए ।
त्यसैगरी, विश्वहिन्दु महासंघका उपाध्यक्ष दिनबन्धु अर्यालले नेपाल बुद्ध, व्यासको जन्मभूमि र ऋषिमुनिहरूको पुण्य तपोभूमि भएकाले अन्य सम्प्रदायले यसलाई समाप्त पार्न चौतर्फी आक्रमण भइरहेको दाबी गर्दै मुलुकको धर्म संस्कारलाई बचाउनको लागि सबै एकजुट भएर उत्रनु पर्ने बताए ।