ट्राफिक प्रहरीले सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि नयाँ अभियान सुरू गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडक दुर्घटनामा सबैभन्दा पीडित मोटरसाइकल हुने भएकाले दुई पाङ्ग्रे सवारीलाई लक्षित गरी उपत्यकामा बुधबारदेखि सडक ट्राफिक सचेतना कार्यक्रम सुरू गरेका छन्।
सवारी दुर्घटना बढ्नुमा चालकको लापरवाही प्रमुख कारण रहेको पाइएपछि दुर्घटना न्यूनिकरणका लागि नयाँ अभियान सुरू गरिएको खनालले सेतोपाटीलाई बताए।
चालकलाई ५ देखि १० मिनेटसम्म सडकमै ट्राफिक सचेतना गराउने भएको छ। तीव्र गति नगर्नुहोस्, ओभरटेक नगर्नुहोस्, पाँच मिनेट ढिला पुगेर केही बिग्रदैँन दुर्घटनाबाट बच्नुहोस्, मापसे चलाएर सवारी नचलाउनुहोस् जस्ता शिक्षा दिने गरिएको खनलाले जानकारी दिए।
उपत्यकाको जावलाखेल, गौशाला, चाबहिल, महाराजगन्ज, त्रिपुरेश्वर, भद्रकाली, नयाँ बानेश्वर, कोटेश्वर र भक्तपुरमा यस्तो शिक्षा दिन थालिएको हो।
सडकमा सबैभन्दा बढी दुर्घटना पर्ने मोटरसाइकल चालक भएकाले उनीहरूलाई मात्र लक्षित गरेर सडकमै रोकि कार्यक्रम गर्न थालिएको हो।
बुधबार करिब ३ हजार मोटरसाइकल चालकलाई सडकमै ट्राफिक जनचेतना दिएको ट्राफिक महाशाखाले जनाएको छ।
सबैभन्दा बढी दुर्घटना हुने र ट्राफिक गल्ती गर्ने पनि मोटरसाइकल चालक नै भएकाले लेन अनुशनसना, तिब्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र जथाभावी ओभरटेक गर्ने जस्ता क्रियाकलापलाई नियन्त्रण र रोकथाम गर्न ट्राफिक सडक शिक्षा प्रभावकारी हुने महानगरीय ट्राफिक प्रहरी ललितपुरका प्रमुख सिताराम हाथेछुले बताए।

‘पहिला हामी ट्राफिक गल्ती गरेपछि मात्र बग्गीखानामा गएर एक घन्टा कक्षा लिन्थ्यौं, अब त्यस्तो ट्राफिक गल्ती नहोस् भन्नका लागि सडकमै ५ मिनेट रोकेर सचेतना कक्षा सुरू गरेका छौ,’ हाथेछुले भने।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालका अनुसार मापसे, लेन अनुशासन र सवारी दुर्घटनाको कारबाहीमा परेकालाई भने पहिलेकै जस्तो कक्षा लिनुपर्ने बताए। ‘हामीले दुर्घटना नहोस् र सजाय भोग्न नपरोस् भनेर मात्र यस्तो अभियान चलाएका हौ, कारबाही रोक्न होइन,’ खनालले भने।
पहिले पहिले ट्राफिक प्रहरीले गल्ती गरेपछि मात्र कारबाही गर्थ्यो भने अब गल्ती गर्नबाट बचाउने उपायका बारेमा पनि कक्षा लिएपछि दुर्घटना कम हुने ट्राफिक महाशाखाको अनुमान छ।

ट्राफिक प्रहरीले मोटरसाइकलमा सुरक्षित तरिकाले सवारी चलाउन अनुरोध गर्दै सचेतनामुलक स्टिकरहरू पनि टाँस्न थालेको छ।
‘ट्राफिक प्रहरीको मुख्य काम भनेको सवारी दुर्घटना न्यूनिकरण गर्नु हो। कुनै सडक प्रयोगकर्तालाई अनाहकमा दुःख दिने, बढी जरिवाना तिराउने होइन,’ खनालले भने, ‘सडक ट्राफिक शिक्षाले गर्दा ट्राफिक व्यवस्थापनमा सहजता हुँनुका साथै दुर्घटनामासमेत कमि आउनेछ।’
अब गन्तव्यमा पुग्न निर्धारित समयभन्दा ५-१० मिनेट समय लिएर निस्किएमा सडकमा ट्राफिक शिक्षा लिन सकिन्छ र सवारी दुर्घटनाममा कमि ल्याउन सकिन्छ।
महाशाखाले अब बिस्तारै साइकल प्रयोगकर्तालाई पनि कक्षा लिने भएको छ।
सडक प्रयोगकर्ता पनि उत्साहित भएकाले अब बिस्तारै राजधानीका अधिकांश स्थानमा ट्राफिक सडक शिक्षा दिने तयारीमा महाशाखा रहेको छ।