गत साउन २७ गएको पहिरोबाट बाटो अवरुद्ध भएर बालबालिका विद्यालय आउँन नसक्दा पाँचथरको फालेलुङ गाँउपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।
साउन २७ गते बिहान गएको पहिरोबाट विद्यालय सेवा क्षेत्रका ४१ परिवार विस्थापित भएपछि उक्त विद्यालयका २८ बालबालिका विद्यालय जान सकेका छैनन । पहिरोबाट विस्थापित स्थानीयवासी स्थानीय वुङचिङ डाँडामा बस्दै आएका छन् ।
पहिरोबाट घरहरू बस्न नमिल्ने बनेका र ठाँउ–ठाँउमा धाँजा फाटेर विद्यालय पुग्ने बाटो अवरुद्ध बनेपछि विद्यार्थी विद्यालय पुग्न सक्ने अवस्था नरहेको जिल्ला शिक्षा कार्यालयका अधिकारी चक्रपाण्डे सुवेदीले बताए ।
‘बाटोघाटो सबै बगाएको छ, सबैतिर पानीको दलदल छ’ उनले भने, ‘ विद्यालयमा अध्ययनरत २८ बालबालिकाहरूलाई विद्यालय पठाउनुस भन्ने अवस्था नै छैन ।’
पहिरोका कारण खोलाघारी क्षेत्रका ४१ परिवार आफ्नो बासस्थान छोडेर वुङचिङ डाँडामा वसोबास गरिरहेका छन् । आइतबारबाट विद्यालय लगाउने प्रयास गरेपनि निरन्तर पानी परेका कारण विद्यालय सञ्चालन गर्न नसकिएको विद्यायल व्यवस्थापन समितिका अध्यक्ष सोमकुमार राइले बताए ।
पहिरोले पाँचथरको फालेलुङ ३ र १ मा बढी क्षति गरेको थियो । अझैसम्म पनि निरन्तर पानी परिरहेकाले विद्यालय लगाउन सक्ने अवस्था नभएको स्थानीयको भनाई छ ।
पहिरोको कारण फालेलुङ ३ कै कालिका आधारभूत विद्यालय माङलेवुङ र जनकल्याण आधारभूत विद्यालयलमा समेत एक हप्ताभन्दा बढी पठन–पाठन अवरुद्ध भएको फालेलुङ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष वुद्धिमान सावदेनले बताए ।
सिद्धेश्वरी माध्यमिक विद्यालय जिमाहाको कक्षा ७ मा अध्ययन एक बलिकाको निधन भएको थियो भने अर्की सोही कक्षाकी बालिका अझै बेपत्ता भएको सावदेनले बताए ।
फालेलुङ–१ को मोतिराम आधारभूत विद्यालयमा माथिबाट भित्तो खसेर केही कक्षा कोठाहरूमा क्षति पुर्याएको छ भने हिलिहाङ–६ स्थित लिटिल स्टार इङ्लिस वोर्डिङ स्कुल चतुरेका ७ वटा कोठाहरू भत्किएका छन् ।
पहिरोको कारण कक्षा कोठाहरू भत्किएपछि एक हप्तासम्म विद्यालय बन्द भएको र अन्यत्र कक्षाको व्यवस्थापन गरी विद्यालय सुचारु गरिएको विद्यालयका प्रिन्सिपल हरिराज लोवाले बताए ।
पहिरोकै कारण विद्यालय बन्द भएकोबारे आफूलाई कुनै जानकारी नभएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले बताए ।