अमेरिकी पर्यटक टम रिचर्डसन र जोअना लुज त्यो रात सबभन्दा पहिला घटनास्थल पुगेका थिए।
पेरिसको सेन नदीछेउ घुम्दै गर्दा अल्मा सुरुङमार्गमा उनीहरूले जोडदार धमाका सुने। आत्तिँदै हेर्दा एउटा कार दुर्घटनाग्रस्त अवस्थामा थियो। सडक डिभाइडरमा ठोक्किएर भित्तामा बजारिएको कार उनीहरूले परैबाट देखे। आधा भाग कच्याककुचुक भग्नावशेष कारबाट आगोको मुश्लो उठिरहेको थियो।
फुटेर उछिट्टिएका सिसा सडकभरि छरपस्ट थिए।
‘हामी पुगेको झन्डै दुई मिनेटसम्म लगातार हर्न बजिरह्यो,’ सानडियागोका रिचर्डसनले अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) सँग भने, ‘दुर्घटनापछि चालकको जीउले स्टेयरिङ थिचेर हर्न बजेको हुनसक्छ।’
रिचर्डसन र लुजलाई रत्तिभर ज्ञान थिएन, उनीहरू संसारलाई शोकमा डुबाउने यस्तो घटनाको प्रत्यक्षदर्शी बनेका छन्, जुन २० वर्षपछि पनि सबैको स्मरणमा ताजै छ।
त्यो सन् १९९७ अगस्ट ३१ तारिख थियो। समय रातको १२ बजेर ३५ मिनेट।
वेल्सकी राजकुमारी डायना र उनका प्रेमी दोदी फायद त्यो रात रिज होटलमा खाना खाएर पश्चिमी पेरिसको निजी भिलातिर गइरहेका थिए। सबैकी ‘प्यारी’ राजकुमारी डायनालाई सार्वजनिक स्थलमा देख्नेबित्तिकै क्यामरा बोकेर दौडिने ‘पापाराजी’हरूले त्यतिबेला पनि छाडेका थिएनन्।
डायना र दोदी चढेको कालो मर्सिडिज जसै सेन नदीको दाहिने किनारस्थित अल्मा सुरुङमार्ग छिर्यो, कम्तीमा सात जना फोटोग्राफरले तेज गतिको मोटरसाइकलमा छायाजस्तै पछ्याए। सायद तिनलाई छल्न भनेरै डायनाले गाडीको गति बढाउन लगाइन्। अनुसन्धानअनुसार सय किलोमिटर प्रतिघन्टाभन्दा बढी कुदेको गाडीले एकाएक सन्तुलन गुमायो। सडक डिभाइडरमा ठोक्किएपछि त चालकले सम्हाल्नै सकेनन्।
मर्सिडिज हुत्तिँदै भित्तामा बजारियो।
दुर्घटनाको साक्षी बनेका अमेरिकी पर्यटकले होस सम्हाल्न नपाउँदै संसारभरि खबर फैलियो– वेल्सकी राजकुमारी डायना र उनका प्रेमी दोदी कार दुर्घटनामा मारिए।
त्यतिबेला ३६ वर्षीया डायनाले वेल्सका राजकुमार चार्ल्ससँग सम्बन्ध बिच्छेद गरेको एक वर्ष पनि पुगेको थिएन। अर्बपति इजिप्सियन व्यापारी मोहम्मद अल–फायदका ४१ वर्षीय छोरा दोदीसँग उनको नाम जोडिएको पाँच साता मात्र भएको थियो। यसबीच दोदीसँग दुईचोटि छुट्टी बिताइसकेकी डायना तेस्रो छुट्टी मनाउन पेरिस आएकी थिइन्। आफ्ना दुई छोरा विलियम र ह्यारी भेट्न भोलिपल्टै लन्डन फर्कने उनको तयारी थियो।
उनले अघिल्लो साता फ्रेन्च अखबार ला मोन्डेसँगको अन्तर्वार्तामा भनेकी थिइन्, ‘छोराहरू नभइदिएका भए म उहिल्यै बेलायत छाडिसकेकी हुन्थेँ।’
त्यो रातको दुर्घटनापछि डायनाले बेलायत मात्र होइन, संसारै छाडिन्।
संसारले भने उनलाई अझै सम्झन छाडेको छैन।
डायना निधनको २० औं वार्षिकीमा बेलायतको गार्डियनसहित अमेरिकाको न्यूयोर्क टाइम्ससमेतले बिहीबार विशेष सामग्री प्रकाशन गरे। डायनालाई सम्झँदै हजारौं बेलायती जनता बकिङ्घम र केन्सिङ्टन दरबारअगाडि भेला भए। कोही आफ्नी राजकुमारीको सम्झनामा आँशु बगाइरहेका थिए भने धेरै भावविह्वल देखिन्थे।
दुई दशक पर्याप्त समय हो, एउटा नयाँ पुस्ता तयार हुन। डायनाको सम्झनामा शोक मनाइरहेका धेरै बेलायती युवा यस्ता थिए, जसको जन्म उनको निधनपछि भयो। डायनाको प्रसिद्धि र लोकप्रियता उनीहरूले देख्दै देखेनन्। उनीहरूका लागि त डायनाको परिचय कथाकी राजकुमारीभन्दा फरकै छैन। यत्ति भन्छन्, ‘उनी दुर्घटनामा मारिएकी जनताकी राजकुमारी हुन्।’
यति हुँदाहुँदै डायनाप्रति बेलायती जनताको अगाध लगाव किन?
दुई दशकपछि पनि कुनै एक राजकुमारीलाई संसारभरिबाट यति धेरै सम्झना र सम्मानको ओइरो किन?
के उनलाई राजकुमारी भएकैले मात्र सबैले सम्झेका हुन्? वा, केही अरू गुण थिए, जसले उनलाई १९९० दशककै चर्चित व्यक्तित्वको सूचीमा दर्ज गराएको छ?
डायनाको जीवनकथा सर्सती पल्टाउने हो भने उनको व्यक्तित्वमा केही यस्ता पक्ष छन्, जसले सम्झना धमिलिन दिँदैन।
राजकुमारी डायना सन् १९९० दशकभरि आफ्नो सामाजिक कार्य, आत्मीय स्वभाव र ग्ल्यामरका कारण चर्चित रहिन्। उनको सरल मिजास र सर्वसाधारणसँगको घुलमिल बेजोड थियो, एक राजकुमारीको दायराभन्दा धेरै बढी। यति बढी, जसले उनको दायरालाई दरबारको सम्भ्रान्त घेराबाट माथि उचालेर जनताको हृदयसम्म फैलायो।
डायनाले आफ्नो व्यक्तित्वलाई कहिल्यै दरबारभित्र खुम्चिन दिइनन्। उनी बेलायतका विभिन्न ठाउँ र विदेश भ्रमणमा निस्किरहन्थिन्। ती भ्रमण कहिले औपचारिक हुन्थे, धेरै अनौपचारिक। भ्रमण क्रममा त्यहाँका सरकार तथा राष्ट्रप्रमुखसँग मात्र होइन, स्थानीय केटाकेटी र महिलासँगको भेट पनि आत्मीय हुन्थ्यो। उनी जनताका कार्यक्रममा सामान्य मान्छेजस्तो सरिक हुन्थिन् र उनीहरूसँगै खुसी मनाउँथिन्।
सन् १९९३ मा नेपाल भ्रमणमा आउँदा यहाँका केटाकेटीसँग उनी जसरी मायालु पारामा प्रस्तुत भइन्, त्यसको सम्झना धेरैलाई ताजा छ। त्यत्तिकै सम्मान उनले तत्कालीन राजपरिवारसँगको भेटमा पनि देखाएकी थिइन्। राजा वीरेन्द्रसँग हात मिलाउँदा उनले एउटा घुँडा भुइँमा टेकेकी थिइन्। त्यसलाई नेपालको राजसंस्थाप्रति बेलायतले देखाएको सम्मानका रूपमा लिइएको थियो।
उनी सम्भवतः संसारकै एक मात्र यस्ती राजकुमारी हुन्, जो व्यक्तिगत जीवनबारे खुलेर अन्तर्वार्ता दिन्थिन्। उनका व्यक्तिगत तस्बिर पटक–पटक अखबारमा आइरहन्थे। कुनै फोटोग्राफर उनलाई देखेपछि फोटो नखिची बस्नै सक्दैन थियो, सायद। त्यसैले उनलाई ‘सबभन्दा बढी तस्बिर खिचिने महिला’ पनि भनिन्छ। राजकुमार चार्ल्ससँग सम्बन्ध जोडिएदेखि जीवनको अन्तिम रातसम्म उनका पछाडि क्यामरा लेन्स उसैगरी तेर्सिइरहे। फोटोग्राफरहरूले उनलाई उसैगरी पछ्याइरहे। अन्ततः उनको जीवनको अन्त्य पनि फोटोग्राफरहरूसँगको ‘रेस’मै भयो।
फोटोग्राफरहरू खासगरी डायनाको सुन्दरता र उनका प्रेमिल सम्बन्धका कायल थिए। चार्ल्स र अन्य प्रेमीसँग उनका अन्तरंग तस्बिर कयौंपटक बेलायती ‘ट्याब्लोइड’ मा छापिएका छन्। उनको निधन हुनु केहीअघि मात्र दोदीसँग चुम्बन गरेको धमिलो तस्बिर एक बेलायती ट्याब्लोइडले प्रकाशित गरेको थियो।
आफ्ना दुई छोरा र श्रीमानसँग साइकल चलाउँदै घुमेको, बगैंचा डुलेको, समुन्द्री किनारमा बिकिनी लगाएर हिँडेको लगायत उनको व्यक्तिगत जीवनका तस्बिर धेरैपटक सार्वजनिक भएका छन्। यस आधारमा डायना एक मात्र यस्ती राजकुमारी हुन्, जसले बेलायती राजतन्त्रको आधुनिक र केही हदसम्म विवादित छवि संसारभरि फैलाइन्।
डायनाको सामाजिक छवि
सामाजिक कार्यमा उनको रुचि प्रगाढ थियो। यसले बेलायती शाही परिवारको मात्र होइन, समग्र अन्धविश्वासको जालो नै भत्काएको छ।
जुनबेला एचआइभी–एड्स विकसित देशमा समेत हाउगुजी थियो, छुवाछुत थियो, उनले त्यहीबेला त्यसको भ्रम हटाउन पाइला चालेकी थिइन्। सबैको डर र आलोचना पन्छाउँदै उनी बिरामीसँग खुलेर भेट्थिन्, उनीहरू छेउ जान्थिन्, छुन्थिन् र न्यानो अंकमाल गर्थिन्।
सन् १९८९ मा उनले एचआइभी–एड्स बिरामीका निम्ति दक्षिणी लन्डनमै ‘ल्यान्डमार्क एड्स सेन्टर’ खोलिन्। र, त्यही संस्थामार्फत् संसारभरका एड्स बिरामीको सेवामा लागिरहिन्।
बिरामीलाई छोएरै एचआइभी–एड्स सर्छ भन्ने भ्रमबीच उनको यस्तो कदमले आलोचना पनि खुबै सहनुपर्यो। ती आलोचकलाई उनी सधैं एउटै जवाफ फर्काउँथिन्, ‘एचआइभीले मान्छेको भावना बुझ्न रोक्दैन। तपाईं उनीहरूसँग हात मिलाउन सक्नुहुन्छ। उनीहरूलाई न्यानो अँगालो मार्न सक्नुहुन्छ। उनीहरूलाई यसको खाँचो पनि छ। र, योभन्दा बढी तपाईं उनीहरूसँगै बस्न सक्नुहुन्छ, एउटै घरमा। उनीहरूसँगै काम गर्ने ठाउँ र खेल्ने ठाउँ बाँड्न सक्नुहुन्छ। उनीहरूकै खेलौना खेल्न सक्नुहुन्छ। उनीहरूको आँशु साट्न सक्नुहुन्छ। उनीहरूको मुस्कान बाँड्न सक्नुहुन्छ।’
एचआइभी–एड्स मात्र होइन, कुष्ठरोगका बिरामीलाई समाजमा स्वीकार्य गराउने प्रेरणा पनि उनैले दिएकी हुन्। त्यो समय एचआइभीजस्तै कुष्ठरोगका बिरामी समाजबाट अपहेलित थिए। राजकुमारी डायनाले भने सबैले छिछी र दुरदुर गर्ने यस्ता बिरामीलाई कहिल्यै पन्छाइनन्। बरु उनी तिनको नजिक जान्थिन्, कुममा धाप मार्दै सान्त्वना दिन्थिन् र हात समातेर साहस बढाउँथिन्। क्यान्सर बिरामीलाई बाँच्ने प्रेरणा दिन पनि उनी सधैं अग्रसर रहिन्।
सामान्य मान्छेसमेत हिच्किचाउने यस्ता कदम उठाउँदा उनले परम्परागत मान्यतामा घेरिएको बेलायती शाही परिवारबाट अवरोध झेल्नु नपरेको होइन। तत्कालीन महारानी एलिजावेथ प्रथम डायनाका यस्ता कदमप्रति रुष्ट थिइन् भन्ने चर्चाको विषय थियो। महारानीको अरुचिका बाबजुद उनका पाइला थामिएनन्।
वास्तवमा डायनाको कद अग्लिनुमा उनको यस्तो कदम नै प्रमुख कारण हो, जसका लागि शाही परिवारले तोकेको सीमाभन्दा धेरै पर गएर उनले समाजसेवामा आफूलाई अर्पेकी थिइन्।
सामाजिक कार्यमा उनको संलग्नता कतिसम्म फैलिएको थियो भने, सन् १९९१ सम्म उनी ३ सय ९७ सामाजिक संस्थामा आबद्ध थिइन्। ती संस्था घरबारविहीन, बालबालिका, किशोरकिशोरी, लागुपदार्थ दुर्व्यसनी, जेष्ठ नागरिक लगायतका चासोमा समर्पित थिए। उनी ती संस्थामार्फत् जनताका समस्यामा मह्लम लगाउन पुग्थिन्।
डायना प्रकृतिप्रेमी पनि थिइन्। पशु संरक्षण अभियानमा निरन्तर लडिरहिन्। खानीको उपयोग मानवहितविरुद्ध हुनुहुँदैन भन्ने एजेन्डा उनले जीवनभरि बोकिन्। विकासका नाममा प्रकृति विनाश गर्ने होडबाजीको उनी खुलेरै विरोध गर्थिन्। र, त्यसमा अभियन्ता नै बनेर बोल्थिन्।
सामाजिक सेवाकै क्रममा डायना देश–विदेश घुम्थिन्। अफ्रिका, अमेरिका, युरोप र एसियाका बिरामी र पीडितहरूलाई भेट्दा उनका आँखा उसैगरी रसाएका हुन्थे।
एकचोटि उनले दक्षिण अफ्रिका गएर नेल्सन मन्डेलालाई भेटिन्। एचआइभी–एड्स पीडित बालबालिकालाई सहयोग गर्न सहकार्यको बाचा गरिन्। उक्त प्रसंगलाई मन्डेलाले यसरी व्याख्या गरेका छन्, ‘यो एचआइभी–एड्ससँग जुधिरहेका मान्छेले भोग्नुपरेको सामाजिक अपहेलनाविरुद्ध लडाइँ हो।’
स्वास्थ्य, कला र खेलकुद क्षेत्रमा डायनाको योगदानलाई संसारले कदर पनि गरेको छ। मस्कोमा उनलाई अन्तर्राष्ट्रिय लियोनार्दो पुरस्कारबाट सम्मान गरिएको थियो। अमेरिकामा समाजसेवाका लागि दिइने ‘युनाइटेड सेरेब्रल पाल्सी हुम्यानिटेरियन अफ द अवार्ड’ डायनाले पाएकी थिइन्। जेष्ठ नागरिकका निम्ति गरेको प्रयासका लागि उनलाई इटालीले स्वर्ण पदक दिएको थियो।
लामो समय सँगै काम गरेका युके इन्स्टिच्युट अफ च्यारिटी फन्ड–रेजिङ म्यानेजर्सका प्रमुख स्टेफन ली डायनालाई सम्झँदै भन्छन्, ‘२० औं शताब्दीको त्यो युगमै समाजसेवामा त्यतिविधि डटेको सायदै अरू कोही थियो।’
‘फेसन आइकन’ राजकुमारी
डायना समाजसेवामा जति गम्भीर थिइन्, आफ्नो जीवनशैलीमा त्यति नै बिन्दास।
उनले कहिल्यै आफूलाई राजघरानाको पिँजडामा कैद गरिनन्। समाजसेवामा सेतो परेवाको छवि बनाएकी डायना आफ्ना लागि ‘धेरै माथि उड्ने चील’ थिइन्। यस्तो किन पनि भनिएको होला भने, उनले आफ्नो व्यक्तिगत जीवनमा चालेका हरेक कदम ‘बोल्ड’ मानिन्छन्। चाहे त्यो प्रेम सम्बन्धमा होस्, चाहे पहिरनमा।
राजकुमारी हुनुको हैसियतले उनको पहिरनमा परम्परागत पाबन्दी थियो। यसो गर्न हुन्छ, त्यसो गर्न हुन्न भन्ने मान्यताले उनलाई घेरेको हुन्थ्यो। डायनामा भने यस्तो खुबी थियो, उनी दरबारको पाबन्दी र आफ्नो स्वच्छन्द इच्छा दुवै समेटेर पहिरन छान्न सक्थिन्। न पहिरनमाथिको दरबारिया बन्देज अवज्ञा गर्थिन् न आफ्नो रहर मार्थिन्।
फेसन चेत भएकी डायना ‘नयाँ’ शैली अपनाउँथिन्, जसले उनलाई अरूभन्दा अलग बनाउँथ्यो। उनको लवाइबाट कसैका आँखा हट्दैन थिए। डायनासँगै काम गरेका फेसन डिजाइनर डेभिड स्यासुनले भनेका छन्, ‘नयाँ प्रयोग गर्दा नियम तोड्न उनी कहिल्यै पछि परिनन्।’
बेलायती अखबार दी टेलिग्राफले त ‘लुगा हेरेर मात्रै बेच्न सक्ने खुबी डायनामा छ’ भनेरै उनको तारिफ गरेको छ।
विदेश भ्रमण जाँदा पनि उनी आफ्नो पोसाकमा सतर्क रहन्थिन्। त्यस्तो बेला प्रायः सम्बन्धित देशकै पहिरन लगाउँथिन्। आफ्नै हिसाबको बिन्दास घुमाइमा भने सामान्यतया खुला ज्याकेट र जम्परमा देखिन्थिन्। समुन्द्री किनारमा छोटा हाफप्यान्ट र बिकिनीमा बेपरवाह मस्ती गर्न उनी कहिल्यै पछि परिनन्।
शाही परिवारका महिलाले हातमा लगाउने लामो पन्जाको परम्परा उनैले तोडेकी हुन्। उनी भन्थिन्, ‘पन्जा लगाउँदा आफूले भेट्ने मान्छेसँग सिधा सम्पर्क हुँदैन।’ यहाँ उनको आसय एचआइभी–एड्स तथा कुष्ठरोगका बिरामीलाई भेट्दाको व्यक्तिगत सम्पर्कतिर थियो। उनी ती बिरामीलाई छोएरै महशुस गर्न चाहन्थिन्। पन्जाले त्यसमा रोक लगाउने हुँदा उनले त्यसको प्रयोगमै रोक लगाइन्।
अवसर र परिस्थितिअनुसार कस्तो लुगा लगाउने भन्नेमा डायना खुब ध्यान दिन्थिन्। स–साना नानी भेट्दा उनको पहिरन बेग्लै हुन्थ्यो। केटाकेटीको मनजस्तै उनी रंगीन र झिलिमिली लुगा लगाउँथिन्। डायनाका फेसन सल्लाहकार तथा ‘भोग’ पत्रिकाकी पूर्व सम्पादक एना हार्भीका अनुसार अरूका आँखाले हेर्दा आफ्नो पहिरनको प्रभाव कस्तो हुन्छ भन्नेमा उनी बहुत सचेत थिइन्।
चार्ल्ससँगको सम्बन्ध बिच्छेदपछि सायद उनको व्यक्तिगत जीवनबाट शाही ‘पाबन्दी’ को प्रभाव हट्यो। त्यसपछि उनी आफ्नो ग्ल्यामर र फेसनमा झनै चम्केको बेलायती अखबारहरूले लेखेका छन्। यही सन्दर्भमा फेसन डिजाइनर डोनाटेला भर्सेसले भनेकी छन्, ‘फेसनको दुनियाँमा डायनाले जे गरिन्, उनीभन्दा अघि र पछि त्यस्तो कसैले गरेको छैन।’
डायना आफ्नो समयकी ‘स्टाइल आइकन’ थिइन्। र, आज पनि उनको छवि उस्तै छ।
सर्वसाधारणका लागि मात्र होइन, सेलेब्रेटीका लागि पनि उनी ‘फेसन आइकन’ हुन्। अहिलेको पुस्ताकी लोकप्रिय गायिका रिहानाले ‘ग्ल्यामर’ भन्ने पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छन्, ‘उनले (डायना) जादू गरेकी थिइन्। उनका हरेक स्वरुप उत्कृष्ट थिए। उनी वेल्सकी मात्र होइन, पहिरनको दुनियाँकै राजकुमारी थिइन्। उनले लगाउने ह्याट, ठूल्ठूला ज्याकेट। वाह! उनले लगाएका हरेक कुरा मलाई मनपर्थ्यो।’
चार्ल्ससँग सम्बन्ध विच्छेद
समाजसेवा र फेसनमा डायनाको जीवन जति चम्किलो छ, उनका प्रेम प्रसंगहरू उति नै जटिल छन्।
राजकुमार चार्ल्ससँगको सम्बन्ध विच्छेद र त्यसपछिका प्रेम प्रसंग संसारकै निम्ति चर्चा र चासोको विषय रह्यो। निधन भएको २० वर्षपछि पनि उनका प्रेम प्रसंगहरूको चर्चा सेलाएको छैन। सेलाओस् पनि कसरी, आखिर जीवनको अन्तिम रात उनी प्रेमीसँगै सयरमा थिइन्।
डायना र चार्ल्सको सम्बन्ध बेलायती शाही परिवारकै सबभन्दा चर्चित रह्यो। सन् १९८१ फेब्रुअरीमा विश्वले बेलायती राजकुमारी पाएको थियो। सुन्दर, लजालु, २० वर्षीया डायना। चार्ल्स उनीभन्दा झन्डै १३ वर्ष जेठा थिए।
विवाहपछि यो जोडी केन्सिङ्टन दरबार सर्यो।
त्यही वर्ष अन्त्यतिर डायना गर्भवती भइन्। अर्को वर्ष जुन महिनामा बेलायतले राजकुमार विलियमका रूपमा उत्तराधिकारी पायो। त्यसको दुई वर्षपछि १९८४ सेप्टेम्बरमा राजकुमार ह्यारी जन्मिए।
ह्यारीको जन्मपछि डायनाको प्रेम प्रसंग उजागर हुन थालेको थियो। धेरैले ह्यारीलाई डायना र उनका प्रेमी हेम्स हेविटका सन्तान माने, बिनाप्रमाण। पछि सबैले स्वीकारे, हेम्ससँगको सम्बन्धअघि नै ह्यारी जन्मिएका हुन्।
यो सम्बन्धले मात्र होइन, अन्य प्रेम प्रसंगले विवाहको पाचौं वर्षदेखि नै डायना–चार्ल्सको सम्बन्ध चिसिँदै गयो। चार्ल्सकी पूर्वप्रेमिका कमिला पार्कर बल्स (हाल चार्ल्सकी पत्नी) सँगको सम्बन्ध पनि उनीहरूको वैवाहिक जीवनमा छाया बनेर मडारियो। वैवाहिक सम्बन्ध खट्पटिनुमा डायना र चार्ल्सले खुला रूपमै एकअर्कालाई दोषी ठहर्याए, गुनासो गरे र कमी–कमजोरी औंल्याए।
‘हाम्रो वैवाहिक सम्बन्ध बिग्रनुको कारण चार्ल्सकी प्रेमिका हुन्,’ डायनाले बिबिसीलाई दिएको एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘यो विवाहमा हामी तीन जना थियौं, वैवाहिक सम्बन्धमा यो अलि कोलाहल नै हो।’
डायनाकै पनि हेम्ससँगको सम्बन्धले कम चर्चा पाएन।
विवाद र खटपटबीच यी दम्पतीले १६ वर्ष एकअर्कालाई झेले। आखिर त्यो दिन आयो, जब विश्वकै चर्चित शाही जोडी अलग्गियो, सन् १९९६ अगस्टमा।
डायनाका प्रेम प्रसंग
डायना यति बिन्दास र खुला स्वभावकी थिइन्, उनले आफ्ना प्रेम प्रसंगहरू कहिल्यै लुकाइनन् – चाहे त्यो चार्ल्ससँग हुँदैखेरि हेम्ससँगको सम्बन्ध होस् चाहे जीवनको अन्तिम घडीमा दोदीसँगको प्रेम।
चार्ल्ससँग सम्बन्ध विच्छेदपछि उनी बेलायती–पाकिस्तानी चिकित्सक हस्नत खानसँग जोडिइन्। उनका निकट साथीले हस्नत उनको ‘जीवनको प्रेम’ भएको बताएका छन्। डायना हस्नतलाई ‘मिस्टर वन्डरफुल’ भनेर सम्बोधन गर्थिन्।
हस्नतसँग जोडिएका बेला डायना उनको परिवार भेट्न पाकिस्तानको लाहोरसम्म पुगेकी थिइन्। त्यो भेट गोप्य थियो। पाकिस्तानी क्रिकेटर इमरान खानको निम्तो मान्ने बहानामा लाहोर पुगेकी डायनाले त्यही मौकामा हस्नतको परिवार भेटेको बेलायती अखबारहरूले जनाएका छन्। निर्भीक स्वभावकी डायनाले त्यो भ्रमण गोप्य राखेको पनि आफ्नै कारणले होइन। हस्नत आफैं डायनासँगको सम्बन्ध खोल्न चाहन्थेनन्।
यसले छर्लंग हुन्छ, डायना र हस्नत जतिसुकै ‘वन्डरफुल’ सम्बन्धमा गाँसिए पनि यी दुईबीच जीवनप्रतिको बुझाइ र समझ नै फरक थियो। फरक धारका दुई व्यक्ति जतिसुकै चाहे पनि एक भएर बस्न गाह्रो पर्छ। आखिरमा दुई वर्ष प्रेम रङमा रंगिएपछि उनीहरू छुटे।
यो सम्बन्ध हस्नतले नै तोडेको डायनाले बताउँदै आएकी थिइन्। उनको निधनपछि भने डायना नै यसबाट अलग भएकी उनका सहयोगी पल बर्रेल र हस्नतले बताएका थिए।
हस्नतका अनुसार डायना सन् १९९७ जुलाईमा अलग्गिएकी हुन्। त्यसको एक महिना नबित्दै उनी इजिप्सियन व्यापारी मोहम्मद अल–फायदका जेठा छोरा दोदीसँग गाँसिइन्।
डायना र दोदीको पहिलो भेट करिब १० वर्षअघि नै भइसकेको थियो। एक पोलो प्रतियोगितामा राजकुमार चार्ल्स र दोदी दुई विपरीत टिममा थिए। त्यतिबेला दुईबीच चिनजान भए पनि उनीहरू नजिकिएको भने फ्रान्समै हो, जहाँ मोहम्मदले डायना र उनका छोरालाई गर्मीको को छुट्टीमा घुम्न बोलाएका थिए। त्यतिबेला दोदीसहित मोहम्मदको परिवार पनि सँगै थियो। मोहम्मदले लाखौं डलर खर्चेर ६० मिटर लामो डुंगा किनेका थिए, डायना र उनका छोराको सुरक्षा र रमाइलो निम्ति।
त्यसपछिका केही दिन डायना र दोदी सँगसँगै देखिए, घुमे। मृत्यु हुनु केही समयअघि यी दुई जना त्यही डुंगामा फ्रान्स र इटाली सँगै घुमेको पनि चर्चा छ। त्यतिबेला उनी कसैका आँखामा परेनन्। त्यही भ्रमणले उनीहरूको सम्बन्ध निधो गरेको थियो, सायद।
यो भ्रमणपछि नै लन्डन फर्किनु अघिल्लो रात जब पेरिसको रिज होटलमा खाना खाएर डायना दोदीको निजी भिला जाँदै थिइन्, उनलाई पापाराजीहरूले पछ्याए।
र, यही बेला पेरिसको अल्मा सुरुङमार्गमा कालो धुवाँ उडिरहेको टुटेफुटेको कारभित्र उनको जीवन समाप्त भयो।
सँगै थिए, उनका प्रेमी दोदी।
सबैकी प्यारी डायना
डायना संसारबाट विदा हुँदा केन्सिङ्टन दरबारअगाडि घुँडा–घुँडासम्म आइपुग्ने गरी पुष्पगुच्छा अर्पित थिए।
बीस वर्षपछि पनि केन्सिङ्टन दरबारअगाडि बिहीबार त्यस्तै दृश्य देखिएको थियो।
डायना सेतो गुलाबकी पारखी थिइन्। केन्सिङ्टन दरबारसँगै सेतो फूलको बगैंचामा उनी अक्सर गइरहन्थिन्। नजाँदा पनि गेटबाटै मालीलाई फूलहरूबारे सोधिरहन्थिन्। त्यही बगैंचामा उनको स्मारक बनेको छ, जहाँ डायनाको स्वतन्त्र अन्दाज, कोमल हृदय र स्वच्छ छविको प्रतिक मानिने सेता फूल मुस्काइरन्छन्।
‘यी फूलले डायनाको मुस्कान सम्झाउँछन्, उनको सफा मन र सुन्दरता छर्छन्,’ बगैंचाका मुख्य माली सन हार्किन भन्छन्।
हजारौं शुभेच्छुकसँगै राजकुमार विलियम र ह्यारी आफ्नी आमाको सम्झनामा श्रद्धाञ्जलि अर्पण गर्न बिहीबार त्यहीँ पुगेका थिए। भावुक त्यो क्षण ठ्याक्कै २० वर्षअघिकै जस्तो थियो। ह्यारी त्यसै पनि आमालाई सम्झँदा प्रायः भावुक भइहाल्छन्। डायनाको कफिनमा उनले छाडेको चिठी सम्झँदा अझै पनि धेरैका घाँटीमा गाँठो पर्छ, जसमा १२ वर्षीय ह्यारीले आफ्नै हातले लेखेका थिए– ममी।
यसपालि डायनाको श्रद्धाञ्जलि अर्पण गर्नेमा डायनाले नदेखेका केही नयाँ सदस्य थपिएका छन्– बुहारी केट र बेलायतको नयाँ पुस्ता जसमा युवादेखि कलिला नानीहरूसमेत छन्। फूल चढाउन आएका यिनले जिन्दगीमा यी राजकुमारीलाई कहिल्यै देखेनन्, सम्झनामा भने उनी सधैं रहिन्। २० वर्षपछि पनि वेल्सकी राजकुमारी डायनाको ‘विरासत’ कति बलियो छ भन्ने यसले प्रमाणित गरेको छ।
सम्बन्धको प्रगाढता आँखासँग होइन, भावनासँग हुन्छ।
त्यसैले त बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले भनेका छन्, ‘डायना बेलायतकी होइन, जनताकी राजकुमारी थिइन्। उनले देशमा होइन, जनताको मनमा राज गरिन्।’
डायनाको विदाइमा एल्टन जोनको गीतले यही भाव बोक्छः
‘अलविदा, बेलायतकी गुलाब, तिमी सधैं हाम्रो मुटुमा हुर्किराख।’
(न्यूयोर्क टाइम्स, गार्डियन, डेली मेल, एपी लगायत विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थामा आधारित। तस्बिरहरूः एपी, डेलीमेल)