सडक यातायातबाट काठमाडौंसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्ताले धनगढी विमानस्थलवाट एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि राहत महसुस गरेका छन् ।
धनगढी विमानस्थलवाट अहिलेसम्म दैनिक नेपाल एयर लायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरले दुई र श्रीएयर लायन्सले एक उडान भर्दै आएकामा आजदेखि निजी क्षेत्रकै सौर्य एयरलाइन्सले काठमाडौं–धनगढी नियमित उडान सुरु गरेको छ।
सडक यातायातमार्फत काठमाडौंलगायत पूर्वी क्षेत्रमा पुग्न ७ नं प्रदेश सुदूरपश्चिमका उपभोक्ताले निकै सास्ती खेप्नुपरेको अवस्थामा हवाई कम्पनीले एकपछि अर्को उडान थालेपछि यात्रा सहज बनेको सौर्य एयर लायन्सबाट काठमाडौं उडेका कैलालीका धर्मराज भट्टले बताए।
आजदेखि निजी वायु सेवा कम्पनी सौर्य एअरलाइन्सको सिआरजे २०० सिरिजको जहाजले काठमाडौं–धनगढी उडान सुरु गरेको हो । कम्पनीले ५४ सिट क्षमतायुक्त ‘क्यानेडियन रिजनल जेट’ (सिआरजे (२००) सिरिजको जहाजमा ५० सिट यात्रुका लागि छुट्याएको छ । नयाँ जहाज यात्रुका लागि आरामदायी सिट र सुरक्षाका हिसाबले मजबूत रहेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए।
पर्यटन व्यवसायीको संस्था ‘नाटा‘का सुदूरपश्चिम अध्यक्ष मायाप्रकाश भट्टले हवाई सेवाको उडान थपिँदा यस क्षेत्रको आर्थिक क्रियाकलापमा महत्वपूर्ण योगदान पुग्ने बताए । सौर्यले काठमाडौँ–धनगढी पहिलो उडान सुरु गरेकामा नाटाले विमानस्थलमै आज एयरलाइन्स टोलीलाई स्वागत गरेको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्रले हवाई यात्रा सहज र सरल बनाउनुपर्नेमा जोड दिइन् । रासस