पाँच वर्षयतादेखि नवीकरण नभएका जिल्ला समन्वय समितिका सवारी साधन सञ्चालन ल्याएको पाइएको छ ।
हालसम्म सञ्चालन हुँदै आएका १३ मोटरसाइकल र दुई गाडीमध्ये ९० प्रतिशत सवारी साधन नवीकरण नगरी सञ्चालनमा ल्याइएको जिससका उपप्रमुख कार्मा बुढाले जानकारी दिए। “खोतल्दै जाँदा सञ्चालित सवारी साधनको न लाइसेन्स भेटिन्छ, न बिलबुक नै, जसले गर्दा नवीकरण भए÷नभएको भन्ने कुनै थाहा छैन”, बुढाले भने । केहीका कागजात भेटिएकामा दुई वर्षदेखि पाँच वर्षसम्म नवीकरण नगरेको पाइएको छ ।
जिससको पहिलो बैठकले स्थानीय विकास अधिकारी हरिनाराण बेल्बासेलाई एक हप्ताभित्रै सोबारे जवाफ दिन साउनमा परिपत्र गरिएको समितिका सदस्य जयराज भारतीले जनाए।“ केही मोटरसाइकलको नवीकरण भए पनि गाडी दुवैको नवीकरण भेटिएको छैन, गाडी अधिकतम मर्मत गर्नुपर्ने छ”, सदस्य भारतीले भने। यसो हुनामा कार्यालय प्रमुखको कमजोरी रहेको पदाधिकारी तथा सदस्यको दोषारोपण छ ।
बुढाका अनुसार खानेपानी र विद्युत्को महसुल पनि तिरिएको छैन । स्थानीय विकास अधिकारी गत साउन ३ गतेदेखि जिल्लामा नभएको र काजमा गएका कर्मचारीले सवारी साधनलगायत अन्य वस्तु बरबुझारथ नगरेको जिससले जनाएको छ । रासस