भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवकविरुद्ध हातहतियार खरखजानाअन्तर्गत शुक्रबार मुद्दा दर्ता गरिएको छ ।
अभियुक्त सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
ससुरा नाता पर्ने माझी तामाङको बारीमा डेरा गरी बस्ने पासाङले बन्दुक लुकाएर राखेको जानकारी पाएपछि प्रहरीले यही भदौ ५ गते बन्दुकसहित त्यसमा प्रयोग हुने बारुद बरामद गरेको थियो । अभियुक्त बसेकै ठाउँबाट बन्दुक बरामद भए पनि अभियुक्त फरार रहेकामा यही भदौ १५ गते उनलाई घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।
हातहतियार बुझाउन प्रहरीले सार्वजनिक सूचना प्रसारण गरे पनि उनले हतियार नबुझाएको पाइएको हो । हतियार भएर पनि नबुझाउनेलाई कडा निगरानीमा राखेर खोजतलास भइरहेको बताइएको छ । रासस