यहाँका पाँच सामुदायिक तथा निजी विद्यालयले राष्ट्रिय सेवा दलको अनुमति पाएपछि कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीलाई तालिम दिन थालेका छन् ।
काँकडभिट्टा मावि, बलभद्र जनता मावि, लिटल फ्लावर्स बोर्डिङ स्कुल, वीरेन्द्र नमूना मावि र शहीद धर्मभक्त मावि केर्खाले अनुमति पाएपछि ७९ दिने तालिम सञ्चालन गर्न लागिएको हो ।
नेपाल सरकारको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष विद्यार्थीको व्यक्तित्व विकास गराउँदै युवामा नेतृत्व विकास गराउने लक्ष्यका साथ तालिम आयोजना गरिँदै आएको छ जसमा शिक्षा मन्त्रालयले विद्यालयसँग सहकार्य गर्ने गरेको छ भने रक्षा मन्त्रालयको मातहतमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।
गत साउन २२ गतेदेखि अनुमति पाएका विद्यालयमा औपचारिक रुपमा शुरु गरिएको तालिममा प्रत्येक विद्यालयका कक्षा ८ र ९ का १८– १८ छात्रा सहभागी छन् । तालिममा प्राविधिक सहयोग कालीबहादुर गण चारआलीबाट प्राप्त भएको छ ।
तालिमबाट विद्यार्थीलाई अनुशासन, राष्ट्रिय एकताको भावनाको जागृति तथा सामाजिक क्षेत्रमा काम गर्न सक्ने सक्षम नागरिक निर्माण गर्न सकिने काँकडभिट्टा माविका प्रअ तुलसीप्रसाद निरौलाले बताए।
तालिम लिएपछि उनीहरुलाई २१ दिनका लागि शिविरमा सहभागी गराइने प्रशिक्षक श्याम कर्माचार्यले बताए । शिविरमा हरेक जिल्लाका विद्यार्थीले नृत्य, गायन, कवाज, पिटी, दौडलगायतमा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी देशभरबाट उत्कृष्ट हुने विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् । रासस