मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा रहेको सार्वजनिक शौचालय लथालिङ्ग अवस्थामा पुगेको छ ।
विसं २०६१ मा उर्लाबारी युवा क्लबको संयोजनमा निर्मित उक्त शौचालय सिद्धार्थ क्लबले पुनःनिर्माण गरेको थियो । तत्कालीन उर्लाबारी गाविसको ५० हजार र हार्डवेयर पसल तथा स्थानीयवासीको सहयोगमा एक लाख ५० हजार रुपैयाँमा सो शौचालय क्लबले निर्माण गरेको थियो । हाल शौचालय पुनः लथालिङ्ग अवस्थामा पुगेकाले शौच गर्न समस्या भएको छ ।
शौचालयको रेखदेख गर्दै आएकी उर्लाबारी–७ की विना मल्लिकले शौचालय पुनःनिर्माण गरिदिन माग गरेकी छन्। उर्लाबारी चोकमा रहेको उक्त शौचालय लथालिङ्ग अवस्थामा पुगेकाले शौच गर्न आउनेले गाली गर्ने गरेको उल्लेख गर्दै उनले भनिन्, “कि शौचालय राम्रो बनाइदिनुस्, कि भत्काइदिनुस् ।”
दैनिक रुपमा १०० देखि १५० रुपैयाँ सम्म उठे पनि त्यसभन्दा बढी खर्च हुने गरेको उनको गुनासो छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोलाई समेत समस्याका बारेमा जानकारी गराइसकेको उनको भनाइ छ ।
शौचालयको पुनःनिर्माणमा कसैले ध्यान नदिँदा भित्ता र ढोका भत्किएको छ भने छानामा रहेको टिन पनि चुहिन्छ । शौच गर्न जाने यात्रु तथा सर्वसाधारणलाई असहज हुने गरेको छ । तत्कालीन उर्लाबारी गाविसलाई २०६८ चैत २८ गते खुला दिसामुक्त गाविस घोषणा गरिए पनि पर्याप्त रुपमा सार्वजनिक शौचालय नबनाई खुला दिसामुक्त घोषणा गरेका कारण कतिपय स्थानमा अहिले पनि खुला शौच गर्ने काम भइरहेको स्थानीयवासीले बताएका छन् । रासस