कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा अझैसम्म पनि बाटो, बिजुली, टेलिफोनलगायतका पूर्वाधारको निर्माण हुननसक्दा स्थानीय बासिन्दा न्यूनतम सेवा पाउनबाट वञ्चित रहेका छन् ।
आधारभूत सेवा सुविधा पुर्याउन पटक÷पटक पहल गरिए पनि कुनै सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष नबलसिं रावलले बताए।
‘विकासका लागि राज्यको ध्यान नपुग्दा गाउँपालिकाका बासिन्दाले न्यूनतम् सेवा सुविधा पाउन सकिरहेका छैनन्,' रावलले भने।
कैलाली जिल्ला तराईको सुगम जिल्लाको रुपमा चिनिएको भए पनि भौतिक पूर्वाधार र विकासका दृष्टिमा पछि परेकै कारण जिल्लाको मोहन्याल गाउँपालिका राज्य संयन्त्रको पहुँचबाट टाढा छ ।
जिल्लाको उत्तर पूर्वी चुरे पहाडी क्षेत्रमा पर्ने भौगोलिक रुपमा अति विकट र दुर्गम यो गाउँपालिकामा बाहुन, क्षेत्री, गुरुङ, मगर, ठकुरीको बसोवास रहेको र जनसंख्या झण्डै २२ हजार छ ।
छिटपुट रुपमा हुने बाख्रापालन र खेती गर्दा हुने आम्दानी यो गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको स्रोत छ । यद्यपि खेती गरेर उत्पादन हुने अन्नले तीन महिनामात्र खान पुग्ने भएकोले बाँकी समयमा स्थानीयवासी रोजगारीका लागि भारत जाने गरेका छन् ।
स्थानीय तहको चुनाव भएको एक महिना भन्दा बढी समय भइसकेको भए पनि सो गापामा कार्यालयको व्यवस्थापन हुनसकेको छैन ।
स्थानीयवासीले सदरमुकाम धनगढीमा सञ्चालनमा आएको मोहन्याल गापाको सम्पर्क कार्यालयबाट सेवा लिनुपरेको छ । रासस