महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ ।
महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर रहेका पाँचवटा घरटहरा हटाएको हो । साथै चक्रपथ क्षेत्रलाई व्यवस्थित बनाउन बाटोमा ट्राफिक संकेत राख्ने काम, बिजुलीका पोल सार्ने, अनावश्यक पार्किङस्थल हटाउनेलगायतका काम गरेको छ ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बाटोको किनारामा रहेका पसल तथा अव्यवस्थित पार्किङले सवारी आगागमनमा समस्या परेको भन्दै उक्त अभियान सुरु गरिएको जानकारी दिए।
उनले यो अभियान पहिलोचरणमा महाराजगञ्ज चोकदेखि कलंकीसम्म सञ्चालन गरिने र विस्तारै अन्य ठाउँमा पनि लैजाने बताए। गत हप्तादेखि सुरु भएको यो अभियानमा जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न स्कुल तथा कलेजका विद्यार्थीले समेत साथ दिँदै आएका छन् । रासस