महिनावारी अझै हिन्दू समुदायमा सहजै स्वीकार्य छैन। ठूलो जनसंख्याको मानसिकतामा महिनावारी ‘पाप’ का रुपमा परिचित छ। यही ‘पाप’ पन्छाउने र पखाल्ने नाममा धेरै किशोरी र महिला दुर्व्यवहारको शिकार भएका छन्। सुदूरपश्चिममा भर्खरै महिनावारी सुरु भएका किशोरीदेखि अन्तिमपटक भइरहेका महिलासमेतले छाउपडी बस्दा ज्यान गुमाएको हामी सुनिरहन्छौं।
तुलनात्मक रुपमा बर्सेनि यो अन्धविश्वास हट्दै गए पनि महिनावारी ‘पाप’ कहलिन छाडेको छैन। महिनावारी अशुद्ध मानिएकै कारण नेपालमा मात्र होइन, भारतमा पनि धेरैले ज्यान गुमाउनु परिरहेको छ। अरुले गर्ने छिःछि र दुर्व्यवहारको असर कस्तोसम्म पर्न सक्छ भन्ने भारतमा भएको एक घटनाले देखाएको छ।
महिनावारी बेला भोग्नुपरेको अपहेलना र अपमानको बोझ थाम्न नसक्दा भारतमा १२ वर्षीय बालिकाले आत्महत्या गरेकी छन्।
बिबिसीका अनुसार २८ अगस्टका दिन ती बालिका आफ्नै घरछेउको भवनबाट हामफालेकी थिइन्। अस्पताल लैजाने क्रममै उनको निधन भएको हो। स्कुल ड्रेसमा महिनावारीको रगत लागेपछि शिक्षिकाले गरेको गालीका कारण उक्त बालिकाले आत्महत्या गरेकी हुन्।
तामिलनाडुको तिरुनेलवेली जिल्ला बस्ने बालिकाले सुसाइड नोटमा शिक्षिकाको ‘यातना’ कारण आत्महत्या गरेको लेखेकी छन्।
जोसेफ म्याट्रिकुलेसन स्कुल पढ्ने बालिकाले आफ्नो सुसाइड नोटमा शिक्षिकाले अपमान गरेको उल्लेख नगरे पनि बालिकाकी आमाले त्यही आरोप लगाएकी बिबिसीले उल्लेख गरेको छ।
आमाका अनुसार शिक्षिकाले लुगामा रगतको दाग लागेका कारण उनकी छोरीलाई गाली गर्दै कक्षाबाहिर निकालेकी थिइन्।
बालिकाको सुसाइड नोटमा लेखिएको थियो, ‘मलाई थाहा छैन, किन मेरो शिक्षिकाले मेराबारे गुनासो गरिरहनुहुन्छ। मलाई किन यसरी पीडा र यातना दिनुहुन्छ ... मसँग कुनै विकल्प रहेन ... अम्मा, मलाई माफ गरिदिनुहोस्।’
बालिकाकी आमाका अनुसार ती शिक्षिकाले पहिले पनि होमवर्क नगरेको भन्दै पिटेकी थिइन्।
‘मेरी छोरीको महिनावारी गत शनिबार भएको थियो, स्कुलमै भएका बेला। जब उसले आफ्नी शिक्षिकालाई सुनाई, उनले प्याड लगाउन भनेर डस्टरको कपडा दिएकी थिइन्,’ आमाले भनेकी छन्।
शिक्षिकाले आफ्नी छोरीलाई कक्षाबाहिर उभिन लगाएको पनि आमाले बिबिसीसँग बताएकी हुन्। यो घटनाको भोलिपल्टै बालिकाले आत्महत्या गरेकी हुन्।
घटनाबारे स्कुल प्रधानाध्यापक कलावतीले यसबारे आफूलाई केही थाहा नभएको बताएकी छन्।
कक्षाका अन्य १६ छात्रासँग प्रहरीले बयान लिएको छ। प्रहरीका अनुसार शिक्षिकाले महिनावारी भएकै कारण बालिकालाई दुर्व्यवहार गरेको पुष्टि भएको छैन।