विकासको मुख्य साधक ऊर्जा क्षेत्रको विकास र व्यवस्थापन सहभागितामूलक र समावेशी बनाई महिला सहभागितालाई सुनिश्चित गर्न दबाब दिने उद्देश्यले राष्ट्रियस्तरमा ऊर्जा तथा वातावरणका लागि महिला सञ्जाल नेपालको गठन गरिएको छ।
आज यहाँ सम्पन्न महिला भेलाबाट कला तिमल्सिनाको संयोजकत्वमा विभिन्न १० जिल्लाका १३ सदस्यीय संजाल निर्माण भएको छ।
ऊर्जा क्षेत्रसँग सम्बन्धित सरकारी निकायहरुका निर्णायक तहमा अहिलेसम्म महिलाको प्रतिनिधित्व हुन नसकेको र निजी तथा सामुदायिक संस्थाहरुमा पनि महिलाको सहभागिता नगन्य रहेकाले ऊर्जाको उत्पादन, प्रसारण र वितरणका क्षेत्रमा महिलामैत्री नीतिगत व्यवस्था हुन नसकेको भेलामा सहभागीको निस्कर्ष थियो ।
सञ्जाल गठनमा सहजीकरण गरेको नेपाल ऊर्जा फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले विश्वका अधिकांश मुलुकमा महिला र ऊर्जालाई विशेष महत्व दिइएको बताउँदै विद्युतीय सुरक्षा, आयआर्जन र समन्यायिक ढंगबाट लाभको बाँडफाँडमा महिलाको सशक्तीकरण गर्नुपर्नेमा जोड दिए।
उनले गाउँदेखि केन्द्रसम्म ऊर्जासम्बन्धी जनचेतनाको विकास गरी ऊर्जा क्षेत्रमा महिलाहरुको पहुँच बडाउन राष्ट्रियस्तरमा महिला संजाल गठन गर्नु आवश्यक भएको बताए।
कानूनविद् दिलराज खनालले खाना पकाउनदेखि विद्युतीय उपकरणको सञ्चालनमा महिलाको संलग्नता रहने भएपनि मुलुकमा विद्यमान ऊर्जासम्बन्धी कुनैपनि ऐन नियम महिलामैत्री हुन नसकेको, ऊर्जाको लाभमा महिलालाई संलग्न नगरिएको र नीति निर्माण तहमा महिलाको सहभागिता नभएको उल्लेख गरे।
सञ्जालकी संयोजक तिमल्सिनाले उर्जा क्षेत्रमा महिलाको प्रभावकारी सहभागिताको लागि क्षमता अभिवृद्धि गर्ने, उर्जामा आधारित उद्यम व्यवसाय र रोजगारी प्रवद्र्धन गर्ने, उर्जाबाट प्राप्त हुने प्रतिफलमा महिलाको पहुँच वृद्धि गर्ने, नवीकरणीय उर्जाको बिकास र प्रबद्र्धन महिलाको सहभागिता बृद्धि गर्ने तथा उर्जा क्षेत्रलाई लैगिकमैत्री बनाउनको लागि वकालतीमा काम गर्ने बताइन् । रासस