दक्षिण चितवनको माडी नगरपालिकामा सञ्चालित विद्युत् सेवा नौ दिनदेखि अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई सास्ती भएको छ । यहाँ विद्युत् नहुँदा विद्युत्मार्फत हुने सम्पूर्ण काम ठप्प भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार भदौ १३ गते चितवन निकुञ्जको जमिनमुनि बिछ्याइएको तारमा देखिएको खराबी पत्ता लगाउन नसक्दा विद्युत् आपूर्ति रोकिएको हो ।
खराबी पत्ता लगाउन भारतबाट मेसिन मगाइए पनि अहिलेसम्म चितवन आइनपुगेको पौडेल बताउँछन् । काठमाडौँ आइपुगेको मेसिनले दूरसञ्चारको विद्युत्सम्बन्धी काम गरिरहेको र एक÷दुई दिनमा चितवन आइपुग्ने जानकारी आएको उनको भनाइ छ ।
निकुञ्जको जमिनमुनि बिछ्याइएको तारमा लगातार समस्या हुँदा असारदेखि भदौको आजसम्म तीन महिनामा झण्डै ५० दिन विद्युत् सेवा अवरुद्ध भएको छ । स्थानीय गोविन्द न्यौपाने लगातारको विद्युत् अवरोधले टेलिफोन लाइनसहितका विद्युत्बाट हुने सबै काम प्रभावित हुँदै आएको बताउँछन्।
यसअघि गएको असार ५ गते बन्द भएको विद्युत् सेवा १७ गते सञ्चालनमा आएको थियो । यस्तै साउन ४ गते पुनः अवरुद्ध भएकामा २८ गते मात्रै सञ्चालनमा आएको विद्युत् फेरि भदौ १३ गतेदेखि पुनः अवरुद्ध भएको छ ।
विद्युत् आपूर्तिको समस्या पत्ता लगाउन स्वदेशी प्रविधिले नसकेपछि भारतबाट विद्युत् फल्ट फाइन्डिङ (खराबी पत्ता लगाउने) यन्त्र ल्याउने गरिएको छ । भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले उक्त परियोजनामार्फत यहाँ गएको मंसिरदेखि बिजुली बालेको थियो । एकपटक उक्त मेसिन ल्याउँदा साढे चार लाख जति खर्च लाग्छ ।
चनौली माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाका प्रमुख जगदीशचन्द्र जोशी जमिनमुनि पटकपटक समस्या देखिएकाले वैकल्पिक व्यवस्थाको विषयमा छलफल भइरहेको बताउँछन्। पटक पटक समस्या आए पछि अहिले प्राधिकरणले मेसिन किन्ने प्रक्रिया शुरु गरेको छ । रासस