विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजनामार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको उपभोक्ताले गुनासो गरेका छन् ।
करिब ८१ करोडको लगानीमा निर्माणाधीन सो आयोजनामा अनियमितताको विवाद भएपछि काम प्रभावित भएको छ । आयोजनाअन्तर्गत उपभोक्ताको घरसम्म विस्तार गरिएको पाइपको मोटाई तोकिएको भन्दा कम र बिछ्याउन कम गहिराइको खाल्डो खनिएकाले छानबिनको माग गर्दै उपभोक्ताले काम रोकेका छन् ।
ठेकेदार कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिले गरिरहेको पाइप विस्तारअन्तर्गत विदुर नगरपालिका–५ पीपलटारसहित आसपासको स्थानमा तोकिएको भन्दा कम मोटाइको पाइप प्रयोग गरेको र पाइप पुर्न कम गहिराइएको खाल्डो बनाएको भन्दै स्थानीय उपभोक्ताले विरोध जनाएका छन् ।
तल्लो पीपलटारका बासिन्दाको घरघरमा विस्तार गर्न बिछ्याइरहेको पाइप १० किलो प्रेसरको जडान हुनुपर्नेमा छ किलो प्रेसरको मात्र जडान गरेको उपभोक्ता मानबहादुर डंगोलले बताए। “पाइप बिछ्याउन ९० सेन्टिमिटरको गहिराइको खाल्डो खन्नुपर्ने भनिएको थियो, अहिले आधा कम गहिराइको मात्र खनिएको छ,” उनले भने, “कामको पारदर्शीता समेत छैन, अनियमितताबारे , छानबिन हुनुपर्छ ।”
तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत ठेकेदार कम्पनी टुण्डीमार्फत भइरहेको कामको पारदर्शिता नभएको र सञ्चालन कार्यक्रमबारे उपभोक्तालाई नै जानकारी नभएको उपभोक्ता एवं नुवाकोट आदर्श बहुमुखी क्याम्पसका प्रमुख नारायणमान डंगोलले बताए।
विदुर नगरपालिकाका विभिन्न वडाका करिब पाँच हजार ८०० घरधुरीमा खानेपानी सेवा पु¥याउने लक्ष्यसहित भइरहेको काम उपभोक्ताको सहमतिअनुसार सञ्चालन गर्ने तथा त्यसको जानकारी उपभोक्तालाई दिइने आयोजनाले जनाएको छ । निर्माण भइरहेको आयोजनाको सुपरिवेक्षणको जिम्मेवारी पाएको टेक–आइकन ज्वाइनभेञ्चरका परामर्शदाता शरणहरि ज्ञवालीले तोकिएको मापदण्ड र पूर्व सहमतिअनुसार काम नभएको प्रमाणसहितको गुनासो आएकाले छानबिन गर्नुपर्नेमा जोड दिए।
“उपभोक्ताले उठाएका विषय जायज छन्,” उनले भने।
एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोषको लगानी रहेको सो आयोजना अबको एक वर्षभित्र पूरा गर्ने गरी निर्माण भइरहेको छ । आयोजनाको मुहानदेखि मूल ट्याङ्कीसम्मको पाइपलाइन विस्तार, मुख्य र सहायक ट्याङ्की निर्माण, ट्याङ्कीदेखि उपभोक्ताको घरसम्मको पाइपलाइन विस्तारको काम जारी छ । रासस