गत साता न्यूयोर्क फेसन विकमा एक-से-एक सुन्दर मोडल र्याम्पमा हिँडिरहेका थिए। जवान युवतीका बीच एक यस्ती मोडल स्टेजमा आइन् जसले सबैको ध्यान तानिन्।
उनी थिइन्, सेतै कपाल फुलेकी ६९ वर्षीया मायी मस्क। कपाल फुलेको होस् या गाला चाउरी परेका, मेकअप गरिएको अनुहारमा मुस्कान छर्दै मस्क कम्मरमा हात राखेर र्याम्पमा क्याटवाक गरिन्।
मायीको पहिचानमा अर्को खुड्किला पनि छ। अमेरिकी कम्पनी टेस्लाका सिइओ एलन मस्क मायीका छोरा हुन्।
तीन सन्तानकी आमा र दश नातिनातिनाकी हजुरआमा मायी पहिलोपटक र्याम्पमा हिँडेकी भने पक्कै होइनन्।
पोषणविद मायी ५० दशकदेखि मोडलिङमा सक्रिय छन्। उनले १५ वर्षको उमेरमा दक्षिण अफ्रिकाबाट मोडलिङ सुरु गरेकी थिइन्।
६९ वर्षमा पनि र्याम्पमा सजिएर हिँड्ने आत्मविश्वास भएकी मायीको जीवन उल्लेखनीय छ।
क्यानेडियन मूलकी मायी आफ्ना आमाबावुसँग दक्षिण अफ्रिका बसाइँ सरेकी थिइन्। उनले त्यहीं आफ्नो मोडलिङ करियर सुरु गरिन्।
उनको विवाह इन्जिनियर एर्रोल मस्कसँग भयो। तर, उनीहरु नौ वर्षमात्र सँगै बस्न सके। छोरा एलन र किम्बलका साथमा छोरी टोस्कालाई उनले नै हुर्काइन्।
टोरोन्टोमा भाडामा लिइएको अपार्टमेन्ट तीन किशोरकिशोरी हुर्काउनु सहज थिएन मायीलाई। उनी भन्छिन्, ‘म साथीभाइसँग बाहिर खानपिउन जान्नथें। आफ्नो कपाल आफैं रंगाउँथें किनकि, मसँग पैसा पुग्दैनथ्यो।’
उनले निकै ठक्कर खाएपनि कहिल्यै डगमगाइनन्। उनका बलिया कदमले नै उनलाई आज अर्बपतिकी आमा बनाएको छ, सफल मोडल बनाएको छ ६९ वर्षमा पनि।
अचेल भने उनी कपाल रंगाउदिनन्। उनी भन्छिन्, ‘५० वर्ष मोडलिङ करियरमा म कपाल रंगाउँदा रंगाउँदा थाकिसकेँ। अब सेतै ठीक छ।’
५० दशकसम्म उनी मोडलिङ गरिरहेकी भए पनि किन ओझेलमा थिइन्, किन कसैको ध्यान उनीमाथि परेन?
‘म पहिले पनि केही विज्ञापनमा देखिएकी थिएँ, तर कसैका नजरमा परिनँ,’ मायी भन्छिन्, ‘एलनलाई विश्वले चिन्यो, म पनि सबैका नजरमा परेँ।’
भोग पत्रिकाले दक्षिण कोरियाली संस्करणमा मायीको आवरण तस्बिर छापेको छ। यसपछि कोरियामा उनको अलग र अग्लिएको पहिचान कायम छ।
सन्तानका लागि आमाले जति नै गर्ने भए पनि आफ्नो पहिचान र करियरमा छोराको भूमिका सरहानीय भएको उनी बताउँछिन्।
‘जेठो छोरा एलनको पहिचानबाट चिनिन पाउँदा उनलाई आनन्द लाग्छ,’ सबैले उनको मुस्कानमै थाहा पाउँछन्। र, उनी टेस्ला कार चलाउँछिन्।
उसो त उनका अरु छोरा किम्बल र छोरी टोस्का पनि कम छैनन्। किम्बल फार्म–टु–टेबल रेस्टुरेन्ट सञ्जाल चलाउँछन् भने, टोस्का फिल्म निर्माण गर्छिन्।
मायी अब ७० वर्ष लाग्दैछिन्। तर, आफू अझै मोडलिङमा आफ्ना सपना पूरा गर्न लागिरहने उनी बताउँछिन्।
(द डेली मेल)