महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ, तिहारमा हुने चोरी, डकैती तथा आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले दशैँ, तिहार र छठ पर्वमा कुनै पनि आपराधिक घटना घट्न नदिन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको बताए।
प्रहरीका वृत्त प्रभाग तथा इकाइबाट घरदैलो तथा सचेतनामूलक पर्चा वितरण तथा माइकिङ शुरु गरेको जानकारी दिँदै उनले सामुदायिक प्रहरीलाई घरदैलोमै पठाएर सुरक्षित हुनेबारे जानकारी गराउने बताए।
चाडपर्वलाई लक्षित गरी आपराधिक क्रियाकलापमा संलग्न रहेका, पटके तथा शंकास्पद व्यक्तिलाई पनि प्रहरीले उच्च निगरानीमा राख्ने भएको छ ।
प्रहरीले बैंक, वित्तिय संस्था, सुनचाँदी पसललगायत आर्थिक कारोबार हुने स्थानमा सम्बन्धित प्रहरी इकाइबाट सादा पोशाकमा व्यापक प्रहरी परिचालन गर्नेछ ।
भक्तपुरका ग्रामीण क्षेत्रमा मोबाइल तथा पैदल गस्ती परिचालन गरिने, मुख्य राजमार्ग तथा सहायक राजमार्गमा समय परिवर्तन गरी ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त चेकिङको व्यवस्था गर्ने भएको छ ।
होटेल, लज, रेस्टुराँ, पुल हाउसमा नियमितरुपमा चेकिङ बढाएको बताउँदै उनले कुनै पनि आपराधिक घटना घट्न नदिन रातको समयमा समेत क्षेत्र विभाजन गरी सादा पोशाकमा प्रहरी खटाइएको बताए।
महानगरीय प्रहरी परिसर भक्तपुरले चाडपर्वका समयमा यात्रु ठगिनसक्ने भएकाले ट्राफिक र प्रहरीद्वारा संयुक्तरुपमा चेकिङ गर्ने व्यवस्था मिलाइएको बताइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले दशैंमा अपराधी सक्रिय हुनेसक्ने र चोरी डकैती बढ्न सक्ने भएकाले गाउँ, टोलका बासिन्दाले एकअर्का बिच समन्वय गरेर निगरानी गर्ने र शंकास्पद भएमा तत्कालै प्रहरीलाई खबर गर्नुपर्ने बताए। रासस