दशवर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई पाँच करोड रुपैयाँभन्दा बढी राहत वितरण भएको छ ।
जिल्लाका १९० द्वन्द्वपीडितलाई पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रजिअ वेदनिधि खनालले बताए । द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसअनुसार कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका द्वन्द्वपीडितलाई राहतस्वरुप आर्थिक सहायता दिइएको हो । कार्यदलको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वमा मारिएका सर्वसाधारण ७१, सुरक्षाकर्मी नौ र कर्मचारी एकका परिवारलाई यसअघि दिइएको रकममा थप गरी १० लाख रुपैयाँ पुर्याइएको छ ।
उक्त ८१ जनामध्ये ७८ मृतकका परिवारले मात्र राहत रकम लिएका छन् । बाँकी तीन जनाको परिवार भने सम्पर्कमा नआएको स्थानीय शान्ति समितिका संयोजक देवनारायण सम्बाहाम्फेले बताए।
सशस्त्र द्वन्द्वकै क्रममा बेपत्ता भएका चारमध्ये दुई जनाको परिवारलाई यसअघि नै रु पाँच लाख उपलब्ध गराइएको र थप पाँच लाख बेपत्ता व्यक्तिका हकदारलाई प्रदान गरिएको उनले बताए । बाँकी दुईजना भने जीवितै भेटिएकाले उनीहरुका नाममा आएको राहत रकम फिर्ता भएको छ ।
त्यसैगरी द्वन्द्वका समयमा राज्यपक्ष तथा तत्कालीन विद्रोही पक्षबाट विस्थापित १११ जनाका लागि यसअघि प्राप्त रकममा थप गरी २५–२५ हजार वितरण गरिएको छ । राहत वितरणलाई पारदर्शी बनाउन सबै रकम बैंकमार्फत वितरण गरिएको प्रजिअ खनालले बताए।
४२ लाख बजेट पीडितहरु समयमा बुझ्न नआएपछि फिर्ता गएको स्थानीय शान्ति समितिले जनाएको छ । कार्यदलको प्रतिवेदनअनुसार द्वन्द्वपीडितलाई वितरण गर्न पाँच करोड ४३ लाख बजेट प्राप्त भएको थियो । रासस