कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको छ ।
हिजोआज एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो ।
आर्थिक वर्ष २०७३÷७४ मा एक सय तीनजना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा ५२ जना एचआइभी संक्रमित थपिएका हुन् ।
आव ०७२÷७३ मा जम्मा ५१ जना एचआइभी संक्रमित रहेको यस जिल्लामा त्यो संख्या बढेर अहिले भएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका तथ्यांक सहायक राजन पहाडीले जानकारी दिए।
खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित बढेका साथै गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पनि पछिल्लो समय उनीहरु गाउँ समाजमा खुल्न थालेको उनले बताए।
जिल्लामा हाल ३५२ जनाले एआरटी औषधि लिइरहेको पहाडीले जानकारी दिए। भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जाने क्रम बढ्न थालेको पहाडीको भनाइ छ । रासस