इन्डोनेसियाको बालीस्थित माउन्ट आगुङमा ज्वालामुखी विस्फोट सम्भावना बढेको छ। सोमबार माउन्ट आगुङमा सयौं कम्पन मापन गरिएका र पृथ्वीको गर्भबाट म्याग्मा बाहिरी सतहमा आउन माथि सरिरहेको संकेत मिलेको अधिकारीहरूले जनाएका छन्।
सोमबार मात्र ५६० भन्दा बढी कम्पन मापन गरिएको थियो। यो कहिले विस्फोट हुन्छ अनुमान गर्न नसकेकाले झनै तनाव भएको इन्डोनेसियाका राष्ट्रिय प्रकोप निकायका प्रवक्ता सुटुपो पुर्वो नुग्रहोले बताएका छन्।
बिबिसीका अनुसार माउन्ट आगुङ वरपर बस्ने करिब ७५ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ। अन्यलाई कम्तीमा १२ किलोमिटर टाढा बस्न आग्रह गरिएको छ।
माउन्ट आगुङमा ज्वालामुखी विस्फोट हुने संकेतलाई बालीका बासिन्दा 'ईश्वर रिसाएको' अर्थमा लिन्छन्। यो टापुसँग यहाँका बासिन्दाको धार्मिक आस्था जोडिएको छ। केही धर्मगुरूले त पर्यटकले बालीको रीतिरिवाज र चलनमा अतिक्रमण गरेकाले यस्तो भएको आरोप लगाइरहेका छन्। संकट टरोस् भनेर बालीका मन्दिरमा पूजाआजा र भाकल सुरू भएको छ। केही स्थानीय ज्वालामुखीसँग कुरा गर्न सक्ने पुजारीले नै उद्धार गर्ने आसमा जोखिम क्षेत्रमै बसिरहेको बिबिसीले जनाएको छ। सरकारले उनीहरूलाई तत्काल त्यहाँबाट निस्कन भनिरहेको छ।
माउन्ट आगुङमा सन् १९६३ मा ज्वालामुखी आउँदा एक हजारभन्दा बढीको ज्यान गएको थियो। त्यसबेला मान्छेले भाग्न केही मिनेट मात्र समय पाएका थिए।
यो इन्डोनेसियाका १३० सक्रिय ज्वालामुखीमध्ये एक हो। माउन्ट आगुङभन्दा करिब ७० किलोमिटर टाढा रहेको बालीको मुख्य पर्यटकीय स्थल कुटा र सेमिनयक हालसम्म प्रभावित छैन। डेनपसरस्थित अन्तर्राष्ट्रिय विमानस्थल पनि नियमित चलिरहेको अधिकारीहरुले बताएका छन्।
बेलायत, अस्ट्रेलिया र सिंगापुरले आफ्ना नागरिकलाई बालीबारे जानकारी, चेतावनी र सुझाव पत्र जारी गरिसकेका छन्।