यही महाअष्टमीको दिन तृष्णा शाक्यलाई विधिवत् कुमारी देवीका रुपमा प्रतिस्थापन गरिने भएको छ।
गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले उनको ठाउँमा राजधानीको ओमबहालकी तृष्णा शाक्यलाई कुमारी छनोट गरिएको हो।
तीन वर्ष उमेरमा कुमारी भएकी मतिनालाई अष्टमीकै दिन राजकीय सम्मानका साथ ‘कुमारी घर’ बाट विदाइ गरिनेछ। उनको ठाउँमा प्रतिस्थापन हुने नयाँ कुमारी तृष्णा शाक्यले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
तीन वर्षीया तृष्णा मञ्जुश्री नक महाविहारका विजयरत्न शाक्य र श्रृजना शाक्यकी छोरी हुन्। गुठी संस्थान सञ्चालक समितिको यही सोमबार बैठकले उनलाई कुमारी छनोट गरेको हो। संस्थानले १८ वटा महाविहारका तीन जना प्रतिनिधि, पञ्चबुद्धका राजगुरुसमेत ५ जनाको छनोट समितिबाट कुमारीका लागि योग्य कन्या चयन गरेको जनाएको छ।
राष्ट्रपतिसँगको भेटका अवसरमा गुठी संस्थानका अध्यक्ष, प्रशासक, कुमारी घरसँग सम्बन्धित व्यक्तिको उपस्थिति थियो।
बालिकालाई शक्तिको स्रोत मान्दै देवीका रूपमा स्थापना गरेर पूजा गर्ने यो चलन काठमाडौंको मौलिक परम्परा हो। संसारले नै कुमारीलाई ‘जीवित देवी’ मान्दै आएको छ।
सामान्यतया तीन वर्ष पूरा भएकी बालिकालाई कुमारी देवीका रूपमा स्थापना गरिन्छ। बीचमा केही नभएको अवस्थामा कुमारीले १२ वर्ष उमेर पुगेपछि अवकाश पाउँछिन्। यो उमेरलाई महिनावारीको अन्तिम चरण मान्दै कुमारी परिवर्तन गर्ने चलन रहेको जानकार बताउँछन्।
यो पनि हेर्नुहोस्: