दशैँं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर मोरङमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
चाडपर्व विशेष सुरक्षाका लागि जिल्लामा नौसय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विष्णुहरि कोइरालाले जानकारी दिए।
चाडपर्वमा कुनै पनि अप्रिय घटना र अवाञ्छित गतिविधि नहोस् भनेर ठूलो संख्यामा २४ सै घण्टा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए। कोइरालाका अनुसार जिल्ला प्रशासन कार्यालय, अन्य सुरक्षा निकाय तथा सरोकारवाला संघसंस्था तथा निकायसँग समन्वय एवं सहकार्य गरेर चाडपर्व लक्षित सुरक्षा व्यवस्था मिलाइएको हो ।
यसका लागि सामुदायिक सेवा केन्द्र, टोल सुरक्षा समितिलगायतबाट जनचेतनामूलक कार्यक्रमसमेत गरिएको छ । विशेष गरेर भारतसँग सीमा जोडिएका स्थानलाई प्राथमिकतामा राखेर उच्च सुरक्षा सतर्कता अपनाइएको मोरङ प्रहरीले जनाएको छ ।
चाडपर्वलाई लक्षित गर्दै मानवीय चहलपहल र भीडभाड बढी हुने स्थानमा मोबाइल गस्ती पनि बढाइएको छ । सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक कोइरालाले विराटनगर महानगरपालिकाभित्र पाँचवटा र मोरङभरी १४ वटा मोबाइल गस्ती परिचालन गरिएको बताए।
त्यस्तै, मोटरसाइकल, साइकल र पैदलगस्तीको व्यवस्था पनि गरिएको छ । बैंक तथा वित्तीय संस्था, धार्मिकस्थल एवं महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाका लागि १४ वटा अलगअलग टोली परिचालन गरिएको बताइएको छ ।