कुश्मा नगरपालिका–१४ स्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ ।
सांसद विकास लम्सालले बिहीबार स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुमार सुवेदीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका हुन् । निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत आव ०७३÷७४ को बजेटमार्फत सांसद लम्सालले १० लाख रुपैयाँ उपलब्ध गराएपछि उनकै पहलमा एम्बुलेन्स भित्रिएको हो ।
एम्बुलेन्स सेवा नहुँदा लामो समयदेखि समस्या झेल्दै आएका ठूलीपोखरीलगायत आसपासका खौलालाकुरी, आर्थरडाँडाखर्क, पकुवा, कार्किनेटालगायतका बासिन्दा बढी मात्रामा लाभान्वित हुने भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा सबैखाले उपचार सेवा नहुँदा रिफर गर्नुपर्ने बिरामीले सास्ती खेप्दै आएका थिए ।
सो अवसरमा सांसद लम्सालले गाउँको विकासनिर्माणमा स्थानीयवासीकै सक्रियता महत्वपूर्ण हुने बताउँदै सडक सुविधा जिल्लाभरि नै पुगे पनि बाह्रैमास सञ्चालन हुने गरीसबै सडक कालोपत्रे गर्ने अभियानमा आफू जुटेको जानकारी दिए।
कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिनाले आफू जिल्ला विकास समितिको सभापति रहेकै बेला जिल्लाको भाग्यरेखा कोरिएको बताउँदै नागरिकमा चेतनाको विकाससँगै गरिबी निवारण पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए।
जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेलले आफूले सात वटै तहबीच समन्वय गरेर प्रत्येक तहलाई समृद्ध बनाउन पहल गरेको बताए ।