अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा एक दर्जन सुरक्षा अधिकारीको मृत्यु भएको छ ।
अफगानिस्तानको राजधानी काबुलबाट करिब ४५० किलोमिटर दक्षिणमा पर्ने कान्दाहार प्रान्तको मारुफ जिल्लाको एक प्रहरी चौकीलाई लक्षित गरी भएको आतंककारी आक्रमणमा परी ती सुरक्षा अधिकारी मारिएका प्रहरी प्रवक्ता जिया दुरानीले बताएका छन् ।
आतंककारीले बिहीबार बिहानको व्यस्त समयमा मारुफ जिल्लामा रहेको प्रहरी विभागलाई लक्ष्य गरी आत्मघाती कारबमको योजना गरेका र त्यसमा परी १२ सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका जिल्ला प्रहरी प्रमुख नादिर खान दुरानीले जानकारी दिएका छन्।
यद्यपि एक सुरक्षा अधिकारीले आफ्नो नाम नबताउने शर्तमा १६ सुरक्षा अधिकारीको सो आक्रमणमा मृत्यु भएको बताएका छन् ।
तालिवान आतंककारी समूहका प्रवक्ता कारी युसुफ अहमादीले सञ्चारमाध्यमलाई सम्पर्क गरी यस आक्रमणको दाबी गरेका छन् । साथै यस आक्रमणमा दुई दर्जनभन्दा बढी सुरक्षा अधिकारीको ज्यान गएको पनि उनले दाबी गरेका छन् ।