अंग्रेजी शब्द ‘नज’ को शाब्दिक अर्थ कसैलाई कोट्याउनु वा कुहिनाले घचघच्याउनु हुन्छ। यसको व्यावहारिक अर्थले भने ‘कसैलाई केही गर्न वा नगर्न प्रोत्साहित गर्ने’ बुझाउँछ। यसपालि अर्थशास्त्रतर्फका नोबेल पुरस्कार विजेता रिचर्ड थेलरको अवधारणा यही शब्दसँग सम्बन्धित छ। उनको ‘नज थ्योरी’ मान्छे अविवेकी हुन्छ भन्ने मान्यतामा उभिएको छ।
पहिलेका अर्थशास्त्रीय सिद्धान्तले मान्छे विवेकशील प्राणी हो भन्ने मान्यता राख्थ्यो। ती सिद्धान्तले भन्थ्यो, ‘मान्छेले मोलतोल गर्छ, आफूले खर्चेको प्रत्येक पैसाबाट उच्चतम प्रतिफल हासिल गर्ने प्रयास गर्छ। कमभन्दा कम पैसा तिरेर बढीभन्दा बढी मूल्यका वस्तु तथा सेवा प्राप्त गर्न खोज्छ।’
थेलर लगायतका विद्वानहरूले भने पुरानो अर्थशास्त्रीय सिद्धान्तको प्रस्थान विन्दुमै समस्या देखे। उनीहरूले मान्छे अरू प्राणीभन्दा चलाख होला, तर पूर्ण विवेकी होइन भन्ने आधारमा आफ्ना अनुसन्धान अघि बढाए। उनीहरूको निष्कर्ष थियो, ‘मान्छेका रोजाइ र निर्णयहरू सधैं सही हुँदैनन्, त्यसैले सही छनोटका लागि मान्छेलाई प्रोत्साहित गर्नुपर्छ, घच्घच्याउनुपर्छ।’
थेलरको सिद्धान्तले सार्वजनिक नीति निर्माणमा महत्वपूर्ण योगदान गरेको छ। सार्वजनिक नीति निर्माणलाई सकेसम्म वस्तुगत बनाउन प्रत्येक घटनाको व्यावहारिक प्रयोग र छुट्टाछुट्टै मूल्यांकनमा उनले जोड दिएका छन्।
यो सिद्धान्तले भन्छ, ‘कुनै वस्तु, व्यक्ति वा घटनाप्रति मान्छेले फरकफरक व्यवहार गर्छन्। उही मान्छेले उही वस्तु, व्यक्ति वा घटनाप्रति फरक सन्दर्भमा फरक प्रतिक्रिया जनाउँछ। त्यसैले मानवीय व्यवहारलाई सामान्यीकरण गर्न सकिँदैन।’
उदाहरणका लागि, सवारी चलाउँदा सिटबेल्ट अनिवार्य गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्दा लचिलो हुन सकिन्छ। सिट बेल्ट लगाउने वा नलगाउने रोजाई सवारी चालककै जिम्मामा छाड्न सकिन्छ। तर, सवारी चलाउँदा मोबाइल फोन चलाउन दिने कि नदिने भन्ने सन्दर्भमा लचिलो हुन सकिँदैन। सवारी चलाउँदा मोबाइल फोन चलाउने छुट दिनै हुँदैन, किनकि यसमा सवारी चालकको भन्दा यात्रुहरूको सुरक्षाको सवाल टड्कारो भइदिन्छ।
उल्लिखित दुई उदाहरण सार्वजनिक नीति निर्माणमा आउन सक्ने भिन्न अवस्था हुन्।
पहिलोमा सिटबेल्ट नलगाउँदा सवारी चालकले आफूलाई मात्रै जोखिममा राख्छ। त्यसैले, आफ्ना लागि कति जोखिम मोल्ने भन्ने उसकै रोजाइमा छाड्न सकिन्छ। दोस्रोमा सवारी हाँक्ने चालकले मोबाइल फोन चलाउँदा ध्यान बाँडिएर दुर्घटना गर्न सक्छ। यस्तो दुर्घटनामा उसले आफूलगायत सडक प्रयोगकर्ता र आसपासका अरूको ज्यान तथा धनमा क्षति पुर्याउन सक्छ। त्यसैले सवारी चलाउँदा मोबाइल चलाउने छुट दिन सकिँदैन।
हाम्रा दैनिक जीवनमा यस्ता हजारौं प्रसंग आउँछन्, जसमा हामीले केही न केही निर्णय गर्नैपर्छ, छनोट गर्नुपर्छ।
केटाकेटीलाई कुन स्कुल पढाउनेरु के चीज खाने–के नखानेरु नीलो, सेतो, पहेँलो कुन लुगा किन्नेरु घरजग्गा, सुन, सेयर केमा लगानी गर्नेरु खाइरहेको जागिर छाड्ने कि नछाड्नेरु अति सामान्य अल्पकालीन विषयदेखि अत्यन्तै जटिल दूरगामी महत्वका विषयमा हामीले कठिन निर्णय गर्नुपर्छ।
मान्छे विवेकशील प्राणी भएकाले यस्ता विषयमा सही निर्णय गर्न सक्षम हुन्छ भन्ने मानिँदै आएको थियो। कम्तिमा पढालेखा मान्छेलाई यस्तो समस्या हुँदैन भन्ने ठानिएको थियो। थेलरले भने गलत छनोटकोे सिकार जोकोही हुनसक्ने सम्भावना औंल्याएका छन्।
सन १९७० दशकमा मनोवैज्ञानिक डेनियल कानेमान र एमस त्रस्कीले मान्छेको विवेकहिनताको चर्चा गरेका थिए। मनोवैज्ञानिक कानेमानले यसअघि नै अर्थशास्त्रतर्फको पुरस्कार पाइसकेका छन्। सत्तरीकै दशकदेखि अर्थशास्त्री थेलरले कानेमान र त्रस्कीसँग सहकार्य थालेका हुन्।
यसरी मान्छेको रोजाइ र आनीबानी बुद्धिमत्तापूर्ण हुन्छ भन्नेमा प्रश्न उठाउने अरू पनि विद्वान भए। उनीहरू सबैको सहकार्यले ‘बिहेभिअरल इकोनोमिक्स’ को थालनी भयो।
मान्छेले विभिन्न भावनात्मक कमजोरीका कारण सही निष्कर्ष निकाल्न सक्दैन भन्ने ‘बिहेभिअरल इकोनोमिक्स’ को विषयवस्तु हो। मान्छेले देखेका सुनेका सबै कुरा सही हुँदैन। उसले आफूले सुन्न खोजेको मात्र सुन्ने वा देख्न खोजेको मात्र देख्ने पनि हुन सक्छ। यसरी प्राप्त सूचना नै अपूर्ण हुने भएपछि यसका आधारमा गरिने निर्णय पनि अपूर्ण हुने सम्भावना उच्च हुन्छ।
प्राप्त सूचना सही भए पनि लोभलालच, इर्ष्या, अहंकार, भय, त्रासजस्ता भावनात्मक विषयले मान्छेलाई सही निर्णय गर्नबाट रोक्छ भन्ने दाबी यो विधाका विद्वानहरूको छ।
सुरुका दिनमा यो विधालाई अर्थशास्त्र नै मानिँदैन थियो। अहिले अर्थशास्त्र भनेकै बिहेभिअरल इकोनोमिक्स हो भन्ने अवस्था आइसकेको थेलर दाबी गर्छन्।
बिहेभिअरल इकोनोमिक्सकै कोणबाट आर्थिक विषय उठान गर्दै आएका अर्का अर्थशास्त्री रोबर्ट सिलरले पनि नोबेल पुरस्कार पाइसकेका छन्। आर्थिक संकट विकृत सूचनाले मात्रै निम्त्याउने होइन, मान्छेको अति उत्साह तथा अत्यन्त निराशाजस्ता भावनात्मक विषय पनि कारक हो भन्ने विश्लेषण सिलरले गरेका थिए।
सन् २००८ को आर्थिक संकटको पूर्वानुमान गर्ने थोरै अर्थशास्त्रीमा सिलर र थेलर पर्छन्। थेलरलाई २०१६ को बहुचर्चित चलचित्र ‘बिग सट’ मा पनि देख्न पाइन्छ। उनले उक्त चलचित्रमा २००८ मा आर्थिक संकटको प्रमुख कारण मानिएको वित्तीय औजार ९सिडिओज० को व्याख्या गरेका छन्।
सार्वजनिक नीति निर्माणमा थेलरका दुई महत्वपूर्ण योगदान छन्।
पहिलो, भावनात्मक कमजोरीका कारण मान्छेले गलत निर्णय गर्न सक्छ भन्ने यथार्थलाई उनले मूलप्रवाहमा ल्याइदिएका छन्। थेलरले मूलप्रवाहमा ल्याएको यथार्थलाई नै आधार मानेर विभिन्न व्यावहारिक प्रयोगशालामा परीक्षण गरेपछि मात्रै सार्वजनिक नीतिलाई टुंगोमा पुर्याउने चलन चलेको छ।
योगदानमा आधारित पेन्सन योजनालाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ। सामान्यतया जागिरेहरू दीर्घकालीन सुविधाभन्दा तत्कालको लाभमा जोड दिन्छन्। भविष्यको आर्थिक सुरक्षा दोस्रो प्राथमिकतामा पर्ने भएकाले बचत गर्न उत्साही हुँदैनन्। त्यसैले, मान्छेलाई बचत गर्न प्रोत्साहित गर्नुपर्छ।
थेलरको दोस्रो योगदान निर्देशात्मक सार्वजनिक नीतिको आलोचना हो। शासकको निर्देशनमा बन्ने सार्वजनिक नीति दिगो हुँदैन भन्ने उनको विश्वास छ। गल्ती शासक र शासित दुवैले गर्न सक्छन्। सरकारी मान्छेले स्रोतसाधनको आदर्शतम व्यवस्थापन गर्छन् भन्ने निश्चित हुँदैन। त्यसैले, सरकारले नागरिकलाई सही छनोट गर्न प्रेरित मात्रै गर्नुपर्छ, बल प्रयोग गर्न हुँदैन।
छनोट गर्ने स्वतन्त्रता उपभोक्ताको अधिकार हो भन्नेमा थेलर विश्वस्त छन्। उनी उपभोक्तालाई ‘बचत गर’ भनी निर्देशन दिएर मात्र हुँदैन, बचत गर्दाको फाइदा पनि देखाइदिन सक्नुपर्छ भन्नेमा विश्वास गर्छन्।
नोबेल पुरस्कार घोषणालगत्तै सञ्चारकर्मीले थेलरलाई सोधेका थिए, ‘तपाईं यो ११ लाख डलर पुरस्कार के मा खर्च गर्नुहुन्छ रु’ उनले भने, ‘यो रमाइलो प्रश्न हो। मैले सकेसम्म बुद्धिहीन ढंगले खर्च गर्ने योजना बनाएको छु।’
वास्तवमा थेलरको एउटा शोधकार्यमा मान्छेको खर्च गर्ने बानीको चर्चा गरिएको छ। ‘मेन्टर अकाउन्टिङ’ नामक उक्त शोधका अनुसार मान्छेले पैसा पैसै हो भन्ने बिर्सिएको हुन्छ। मान्छेले मनमनै आयका विभिन्न स्रोत र खर्च गर्ने क्षेत्रअनुसार पैसालाई भिन्न तरिकाले मूल्यांकन गरेको हुन्छ। मान्छेले नियमित तलबबाट प्राप्त गरेको हजार रुपैयाँ र चिट्ठा, पुरस्कार वा बोनसबापत् प्राप्त गरेको हजारलाई उत्तिकै महत्व दिएको हुँदैन। तलब आम्दानी उसले गाँस, बास, कपासजस्ता आधारभूत आवश्यकताका लागि छुट्याउँछ भने आकस्मिक आम्दानी मनोरञ्जन वा अन्य फुर्माइसमा खर्च गर्छ।
उल्लिखित चर्चाहरूबाट अबको अर्थशास्त्र मान्छेलाई विवेकशील प्राणी मानेर अगाडि बढ्ने छैन भन्ने आशा गर्न सकिन्छ। यसबाट मान्छेको बुद्धिमत्तामा प्रश्न उठाउने कार्यले निरन्तर पाउने छ। मान्छे आफूले आफैंलाई बुद्धिमान भनेर मख्ख परेर बस्ने छैन।