सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको छ।
सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान जाने सर्वसाधारणको संख्या २७६ पुगेको छ भने दर्जनौं घाइते छन्। घाइतेको अवस्था अत्यन्तै गम्भीर भएको र अस्पतालमा उपचार भइरहेको बताइएको छ।
सोमालियाली अधिकारीहरुले उक्त आक्रमणमा घाइते हुनेको संख्या पनि करिब ३०० रहेको जनाएका छन्।
शनिबार सोमालियाली राजधानी मोगादिशुको एक अति ब्यस्त बजार लक्षित यो आतंककारी हमला निकै दर्दनाक छ।
सोमालियाका सभामुख अबसिर अफसर मोहम्मदले मारिनेको संख्या पुष्टि गर्दै भने, 'हामी सोमालिया माथिल्लो संसदका सबैजना सदस्य ती मृतकहरु राखिएका अस्पतालमा पुगेर उनीहरुको अन्ति संस्कारमा सहभागी भएका छौं।'
मृतकमध्ये अधिकांशको शरीर जलेर पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरी अधिकारी इब्राहिम मोहम्मदले बताएका छन्।
विष्फोटको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन। यो आक्रमण सोमालियाको इतिहासमै सबभन्दा खतरनाक हमलाको रुपमा लिइएको छ।