पर्यटन क्षेत्र ठमेललाई यही कात्तिक ५ गतेबाट सवारीमुक्त घोषणा गरेसँगै स्थानीय बासिन्दा र व्यवसायको निम्ति वैकल्पिक आउजाउ र पार्किङ व्यवस्थाबारे प्रश्न उठेको छ।
काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक महाशाखा, स्थानीय र पर्यटन व्यवसायीको समन्वयमा ठमेललाई पैदल मार्ग (वाकिङ स्ट्रिट) बनाउन खोजिएको हो। ठमेलजस्तो व्यस्त ठाउँमा कुनै विकल्पबिना यस्तो योजना कसरी कार्यान्वयन हुन्छ भन्नेमा सबैको चासो छ।
योजनाअनुसार पानी, एम्बुलेन्स, दमकल, पर्यटन, सुरक्षा लगायत अत्यावश्यक सवारीबाहेक अन्यले ठमेलको मुख्य क्षेत्र छिर्न पाउने छैनन्। ती सवारीले त्रिदेवी मार्गबाट मात्र प्रवेश पाउनेछन्। यसमा ट्याक्सी, माइक्रो, भ्यान र मोटरसाइकल पर्छन्। यसबाहेकका ठूला सवारीलाई त प्रवेश निषेधै गरिएको छ। निषेधित स्थानको क्षेत्रफल एक वर्गकिलोमिटर हुन आउँछ।
लगभग चौबीसै घन्टा पर्यटक तथा स्थानीयको चहलपहल हुने ठाउँमा सवारी निषेध सम्भव छ? यसले व्यापार व्यवसाय चौपट हुने त होइन? त्यसमाथि ठमेल व्यापार केन्द्र मात्र होइन, बसोबास स्थल पनि हो। सवारी निषेध गर्दा स्थानीयलाई आउजाउ गर्न मर्का पर्दैन? उनीहरूलाई पार्किङ वा आउजाउको विकल्प नदिई यो योजना कार्यान्वयन सम्भव छ?
यिनै विषयमा हामीले ठमेल क्षेत्रका सरोकारवालासँग कुराकानी गरेका छौं।
सबभन्दा पहिला त सवारीमुक्त योजनाको विस्तृत खाकाबारे ट्राफिक महाशाखा प्रमुख डिआइजी सर्वेन्द्र खनाललाई सोध्यौं।
उनका अनुसार ज्याठा र त्रिदेवी सडकखण्ड दुईतर्फी सञ्चालन गरिनेछ भने क्षेत्रपाटीबाट जेपी मोड, ठहिँटी र ठमेल आउने सडकमा दुईपांग्रे सवारी मात्रै दुईतर्फी सञ्चालन गरिनेछ।
यो पनि पढ्नुहोस्:
ठमेलबाट बाहिर जाने सवारी सातघुम्ती, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी, भगवतीबहाल, अमृत क्याम्पसमार्ग र ठहिँटीबाट दाहिने जान पाउने छन्। ठमेल क्षेत्रभित्रका सडकमा पार्किङ गर्न नदिने तथा ट्राफिक संकेत व्यवस्थापन गरिने पनि उनले बताए।
ठमेल क्षेत्र काठमाडौं महानगरपालिकाका १६, १७, २६ र २८ नम्बर वडामा पर्छन्। महाशाखाले सवारीमुक्त बनाउन लागेको मुख्यतया १६ र २६ नम्बर वडाका हुन्।
ठमेललाई ‘सुन्दर र समृद्ध बनाई नमूना सहर निर्माण गर्ने’ योजनाअन्तर्गत यो व्यवस्था लागू गरिएको डिआइजी खनाल बताउँछन्।
‘पर्यटकको उच्च चाप हुने ठाउँमा सवारीको भीड बढी छ,’ खनालले सेतोपाटीसँग भने, ‘यही भीड व्यवस्थापन गर्न परीक्षणका रूपमा यस्तो नियम लागू गरिएको हो। यसले थोरै भए पनि ठमेलको वातावरण सुधार्न मद्दत गर्छ। साँघुरो सडकमा पैदल यात्रुका समस्या र दुर्घटनाको जोखिम कम गराउँछ।’
उनका अनुसार ठमेल क्षेत्र वरपरका सोह्रखुट्टे, पकनाजोल, असन, कालधारा र क्षेत्रपाटीतर्फका मुख्य सडक व्यवस्थापन गर्न केही समयदेखि पहल भइरहेको छ। यीमध्ये धेरै बाटा एकतर्फी बनाइँदै छन्। केहीमा सडक कालोपत्रे गर्ने काम जारी छ।
महानगरपालिकाको सहयोगमा वडा नम्बर २६ ले मनाङ होटलदेखि काठमाडौँ गेस्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्म सडक कालोपत्रे गरिरहेको छ।
सवारीमुक्त घोषणा गरिएको एक वर्गकिलोमिटर क्षेत्रमा ८० प्रतिशतभन्दा बढी व्यावसायिक केन्द्र छन्। यहाँ ३ सय होटल र ५ सयभन्दा बढी रेस्टुरेन्ट छन्। डान्स क्लब, डिस्को, कपडा, क्युरियो सामान, हस्तकला पसल, ट्राभल एजेन्सी लगायत धेरै किसिमका पर्यटन व्यवसाय यहाँ सञ्चालित छन्।
दैनिक ठूलो आर्थिक कारोबार भइरहेको क्षेत्रमा सवारी निषेध गर्दा पर्यटन व्यवसायी खुसी छन् त?
‘यो हाम्रै पहलमा भएको हो,’ ठमेल पर्यटन विकास परिषदका महासचिव भविश्वर शर्माले भने, ‘ठमेलको व्यवसाय विस्तार र गुणस्तर सुधार होस् भनेरै हामीले यसको पहल गरेका हौं। यसमा केहीको विमति रहे पनि यो हाम्रै हितमा छ। ठमेल जति व्यवस्थित भयो, पर्यटक उति धेरै आउँछन्। पर्यटक धेरै आए र उनीहरूले सुविस्तासँग हिँडडुल गर्न पाए फाइदा हुने हामीलाई नै हो।’
महासचिव शर्माका अनुसार ठमेलबाहिरबाट आउने सवारी निषेध भए पनि भित्रका होटल तथा व्यवसायीका सवारीलाई सहुलियत हुनेछ।
‘यतिका धेरै व्यवसायी छन्। सबैका गाडी रोक्ने हो भने मर्का पर्छ, त्यसैले स्थानीय व्यवसायीका सवारीलाई स्टिकर र पासको व्यवस्था गरिनेछ,’ उनले भने।
ठमेल सवारीमुक्त क्षेत्र अभियानका सदस्यसमेत रहेका शर्माले यहाँका अधिकांश व्यवसायीको आफ्नै पार्किङ रहेको बताए। उनीहरूले स्टिकर वा पासका आधारमा निषेधित क्षेत्रभित्र छिरेर आफ्नो सवारीको व्यवस्थित पार्किङ गर्न पाउनेछन्। पर्यटक ओसार्ने होटलका सवारीको पनि उचित व्यवस्थापन हुने उनले बताए।
ठमेल आउने सवारीका लागि नयाँबजार लिंकरोडदेखि सोह्रखुट्टे-शोभाभगवती खण्ड र बालाजु रिङरोड ट्रयाकमा पार्किङको व्यवस्था मिलाइएको छ। लैनचौरस्थित समाज कल्याण परिषदको खुला चौरमा पनि पार्किङ गराउन कुराकानी भइरहेको रिजालले बताए।
स्थानीय व्यवसायीलाई गाडी ल्याउन छुट्टै पास वा स्टिकर दिने भनिए पनि त्यसको वितरण कसरी गर्ने टुंगो लागेको छैन। यसको दुरुपयोग सम्भावना रोक्नेबारे पनि छलफल हुन बाँकी छ। यसबारे महाशाखा, वडा, स्थानीयवासी र व्यवसायीले दुई–तीन दिनमा फेरि बैठक गरेर निर्णय गर्ने उनले जानकारी दिए।
ठमेल भनेको पर्यटन र व्यापार केन्द्र मात्र पनि होइन। त्योभन्दा पहिला यो स्थानीय समुदायको बसोबास स्थल हो। हुन त यहाँका धेरै बासिन्दा आफ्नो घर भाडामा दिएर अन्यत्र बस्दै आएका छन्। तैपनि केही स्थानीय अझै यहीँ बसोबास गर्छन्।
व्यवसायीलाई सहुलियत दिएजस्तै स्थानीयको ओहोरदोहोरलाई के त?
काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालका अनुसार व्यवसायीजस्तै स्थानीय बासिन्दालाई पनि सवारी चलाउन सुविधा दिइनेछ। उनीहरूलाई निषेधित क्षेत्रभित्र आफ्नो गाडी ल्याउन स्थायी पास तथा स्टिकरको व्यवस्था गरिनेछ।
‘हामीले स्थानीय र व्यवसायीको आवतजावतमा समस्यै पार्ने गरी सवारी विस्थापन गर्न लागेका होइनौं,’ वडाध्यक्ष रिजालले भने, ‘ठमेलमा पैदलयात्रुलाई हिँड्न सहज होस् र यहाँको वातावरणीय सुधार होस् भनेर सवारी चाप कम गर्न खोजेका हौं।’
यो अभियान स्थानीय समुदायकै पहलमा लागू भएको उनले बताए। सानो क्षेत्र, व्यस्त बजार, पर्यटक र पैदल यात्रुको चापबीच सवारी आवागमनले झन् समस्या भएको स्थानीयले गुनासो गर्दै आएका थिए। सवारी निषेधपछि स्थानीयले लामो समयदेखि उठाउँदै आएको समस्या हल हुने वडाध्यक्ष रिजालको भनाइ छ।
स्थानीय र व्यवसायीको चासो सम्बोधन गर्न एउटा होटललाई एउटा सवारीको निम्ति पास वा स्टिकर दिने योजना भएको परिषदका महासचिव शर्माले जानकारी दिए। गाडीले यही पास देखाएर आफ्ना पर्यटक तथा पाहुना ओसार–पसार गर्नेछ।
सवारी निषेधपछि यहाँका सशुल्क पार्किङ के हुन्छन्? ती ठाउँमा दैनिक पार्किङ हुँदै आएका सयौं सवारी कहाँ व्यवस्थापन गरिन्छ?
वडाध्यक्ष रिजालले यसको निम्ति पनि केही व्यवस्था भइसकेको र कार्यान्वयन गर्न थप काम भइरहेको बताए। ‘यहाँको पार्किङ स्थलका विकल्पमा र यहाँभित्र आउने सवारी कहाँ राख्ने भनेर हामीले पहिल्यैदेखि काम गर्दै आएका छौं,’ रिजालले भने।
उनका अनुसार ठमेल आउने सवारीका लागि नयाँबजार लिंकरोडदेखि सोह्रखुट्टे-शोभाभगवती खण्ड र बालाजु रिङरोड ट्रयाकमा पार्किङको व्यवस्था मिलाइएको छ। लैनचौरस्थित समाज कल्याण परिषदको खुला चौरमा पनि पार्किङ गराउन कुराकानी भइरहेको रिजालले बताए।
निषेधको प्रावधान प्रभावकारी लागू गर्न पास वा स्टिकरका आधारमा सवारी नियमन गरिने ट्राफिक महाशाखाले जनाएको छ।
डिआइजी खनालका अनुसार यो नियम व्यवस्थित रूपमा लागू गर्न ठमेल क्षेत्रभित्र व्यवसायी वा स्थानीयकै सवारी पनि एकतर्फी सडकमा पार्किङ गर्न दिइने छैन। ठाउँ–ठाउँमा ट्राफिक संकेत राखिनेछ र धेरै धुवाँ निकाल्ने, हर्न बजाउने तथा जथाभावी चलाउने सवारीमा विशेष निगरानी राखेर कारबाही गरिने डिआइजी खनालले बताए।