नेदरल्यान्ड्सकी मेलानियाले युरोपमा यस्ता धेरै ठाउँ देखेकी छन्, जहाँ सवारी प्रवेश निषेध छ। जहाँ सडकमा पैदलयात्रुहरू कसैसँग कुम नठोकी निस्फिक्री हिँड्न सक्छन्।
धेरैचोटि नेपाल घुम्न आएकी उनी यसपालि त्यस्तै दृश्य ठमेलमा देखेर छक्कै परिन्।
‘वाउ, मलाई आज यहाँ हिँड्दा आफ्नै घर फर्केझैं भयो,’ ५० वर्ष नाघेकी मेलानियाले भनिन्, ‘यो साह्रै राम्रो भयो, म अब यहाँ आरामले हिँड्नसक्छु।’
परिवर्तित ठमेलमा पैदल हिँडिरहेकी मेलानियाले अघिल्लोचोटि यहाँ देखेको घन्चमन्च बिर्सेकी छैनन्। भन्छिन्, ‘पहिले ट्वाँट्वाँ, टिँटीँले कान खान्थ्यो, धुलोले नाक पिरो हुन्थ्यो, सडकको हिलो छ्याप्दै हुत्तिएर आउने गाडीहरूबाट जोगिन पसलका डिल–डिलमा हिँड्नुपर्थ्यो। काठमाडौंले यस्तो वाकिङ–स्ट्रिट (पैदल मार्ग) सुरु गरेको देख्दा मलाई एकदमै खुसी लागेको छ।’
ठमेलमा यही कात्तिक ५ गतेबाट सवारी प्रवेश निषेध गरिएको छ। यहाँ पैदलयात्रीहरू मेलानियाले भनेजस्तै कसैसँग कुम नठोकी हिँड्न सक्छन्।
काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक महाशाखा, स्थानीय र पर्यटन व्यवसायीको समन्वयमा ठमेललाई पैदलमार्ग बनाइएको हो। यसले राजधानीको प्रमुख पर्यटन केन्द्र ठमेलको रूपै फेरिएको छ।
नरसिंह चोकबाट काठमाडौं गेस्ट हाउस छिचोलेर दायाँ सातघुम्ती चोक र बायाँ जेपी स्कुल मार्गसम्मको ठमेलमा अचेल गाडी र मोटरसाइकलको भीडभाड छैन। सडक यति शान्त छ, मान्छेको कल्याङमल्याङ नै प्रस्ट बुझिन्छ। पर्यटकहरू बीच बाटोमै गफिँदै हिँडिरहेका हुन्छन्। गाडी हटेपछि धुवाँ छेक्न अनुहारमा मास्क उन्नुपर्दैन। त्यसमाथि भर्खरै कालोपत्रे सडकमा हिलो छल्न मृगझैं पाइला उफार्नु पनि पर्दैन।
बिहीबार मध्याह्न यहाँ पुग्दा स–साना नानीबाबु आफ्ना अभिभावकको हातै छाडेर बीच सडकमा दगुरिरहेका थिए। एक जना सानो बाबु त सडकमै खेलौना गाडी कुदाइरहेको थियो। अर्का एक पर्यटक आफ्नो बच्चा राखेर ट्रली गुडाउँदै थिइन्। बाह्र–तेह्र वर्षकी बालिका सडककै बीच साइकल सिक्दै थिइन्। त्यही बेला दस–बाह्र जना जापानी पर्यटकको टोली आइपुग्यो, जसमा दुई जना ह्विलचेयरमा थिए। गाडी छल्न नपरेपछि सडकमै ह्विलचेयर गुडाउन उनीहरूलाई कुनै गाह्रो भएन।
सातघुम्ती चोकतिरबाट एउटा स्कुटर हुइय्य आयो। ट्राफिकले हातको इसाराले रोके र इसाराले नै स्कुटर फर्काउन लगाए। स्कुटर जताबाट आएको हो, त्यतै मोडियो।
एक महिनाअघिसम्म यहाँ यस्तो दृश्य र घटना विरल थियो।
हिलाम्मे सडकमा गाडी र मोटरसाइकलको उछिनपाछिन चल्थ्यो। टायरले छ्याप्ने हिलोबाट जोगिन पैदलयात्रीहरू सडकका कुना–कुनामा ढेपिएर हिँडिरहेका हुन्थे। त्यतिबेला काठमाडौं गेस्ट हाउसका सुरक्षा गार्डले हामीलाई जोगिएर हिँड्न सुझाउँदै भनेका थिए, ‘छेऊ छेऊ जानुहोस् है, चिप्लिएला।’
‘ठमेल बल्ल ठमेलजस्तो भयो,’ सवारी निषेधित क्षेत्रमै खुकुरी व्यापार गर्ने राजकुमारले भने।
सधैंजसो चहलपल भइरहने ठमेलको यो एक वर्गकिलोमिटर क्षेत्रमा सवारी निषेधले पर्यटक मात्र होइन, राजकुमारजस्ता व्यापारी पनि खुसी छन्।
‘ठाउँ सफा भएको छ, मान्छेले चारैतिर हेर्न पाएका छन्,’ उनले भने, ‘यसले व्यापार फस्टाएको छ।’
https://www.youtube.com/watch?v=4OxHkwIpAL8
पार्किङको व्यवस्था नभएकाले अलि गाह्रो अनुभव भइरहेको उनले सुनाए। ‘सवारीमुक्त भनिए पनि पार्किङ व्यवस्थापन भइसकेको छैन,’ राजकुमारले भने, ‘यहाँ आउने गाडी, मोटरसाइकल कहाँ लगेर राख्ने निश्चित नगरिएकाले अलि कठिन भइरहेको छ।’
सँगैका पस्मिना व्यवसायी प्रह्लाद खनाल भने ‘सुरुका केही दिन नौलो र अप्ठ्यारो लागे पनि सहज हुँदै जाने’ बताउँछन्।
‘यो हाम्रै हितमा छ। केही समय समस्या भए पनि हामीले सहनैपर्छ,’ उनले भने, ‘त्यस्तो गाह्रो पनि भएको छैन। सवारीमुक्त भएर हाम्रो व्यापार घटेको छैन, बरु बढेकै छ।’
उनका अनुसार बाटो खाली भएपछि पैदलयात्रुहरू ढुक्क हिँड्न पाएर पहिलेभन्दा बढी पसल चहार्न थालेका छन्। ‘हामीलाई सामान ओसारपसार गर्न केही गाह्रो हो, तर व्यवस्थापकले यसको संयोजन गर्दैछ,’ खनालले भने।
यो पनि पढ्नुहोस्:
राम्रो कामको सुरूआतले सबैको समर्थन भएको अनुभव सुनाउँदै उनले भने, ‘काठमाडौंका अरू ठाउँमा पनि यस्तै होस्।’
सवारी प्रवेश निषेध गरिएपछि पानी, एम्बुलेन्स, दमकल, पर्यटन, सुरक्षा लगायत अत्यावश्यक सवारीबाहेक अन्यले ठमेलको मुख्य क्षेत्र छिर्न पाउँदैनन्। ती सवारीले त्रिदेवी मार्गबाट मात्र प्रवेश पाउँछन्। त्यसमा पनि ट्याक्सी, माइक्रो, भ्यान र मोटरसाइकललाई मात्र छुट छ। यसबाहेकका ठूला सवारीलाई त निषेधै गरिएको छ।
यसले सामान ल्याउन–लैजान भने केही गाह्रो भएको डिपार्टमेन्ट स्टोरका कर्मचारी दीपन तामाङ बताउँछन्।
‘यो राम्रो भयो, झट्ट हेर्दा पनि सडक शान्त र सुन्दर देखिएको छ,’ उनले भने, ‘अब हामीलाई सामान ओसार्ने वैकल्पिक व्यवस्था पनि छिट्टै होस्।’
ठमेल क्षेत्र काठमाडौं महानगरपालिकाका १६, १७, २६ र २८ नम्बर वडामा पर्छ। त्यसमध्ये अहिले १६ र २६ नम्बर वडामा पर्ने क्षेत्रलाई सवारीमुक्त बनाइएको हो। पर्यटकको उच्च चाप हुने ठाउँमा सवारीको भीड हटाउन स्थानीय निकायकै समन्वयमा पैदलमार्गको अवधारणा लागू गरिएको महानगरीय ट्राफिक महाशाखा प्रमुख डिआइजी सर्वेन्द्र खनाल बताउँछन्।
‘यसले ठमेलको वातावरणमा सुधार मात्र होइन, दुर्घटना जोखिम पनि कम हुन्छ,’ उनले भने।
डिआइजी खनालका अनुसार ठमेल क्षेत्र वरपरका सोह्रखुट्टे, पकनाजोल, असन, कालधारा र क्षेत्रपाटीतर्फका मुख्य सडक पनि व्यवस्थापन गर्न पहल भइरहेको छ। यीमध्ये धेरै एकतर्फी बनाइँदै छन्। केही सडक कालोपत्रे गर्ने काम जारी छ।
काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजाल तत्काललाई ठमेलको वैकल्पिक पार्किङ व्यवस्थित नभए पनि तयारी भइरहेको बताउँछन्।
उनका अनुसार ठमेल आउने सवारीका लागि नयाँबजार लिंकरोडदेखि सोह्रखुट्टे–शोभाभगवती खण्ड र बालाजु रिङरोड ट्रयाकमा पार्किङको व्यवस्था मिलाइँदै छ। लैनचौरस्थित समाज कल्याण परिषदको खुला चौरमा पनि पार्किङ गराउन कुराकानी भइरहेको रिजालले बताए।
यो नियम व्यवस्थित रूपमा लागू गर्न ठमेल क्षेत्रका व्यवसायी वा स्थानीयकै सवारी पनि सडकमा पार्किङ गर्न रोक लगाइएको छ। ठाउँ–ठाउँमा ट्राफिक संकेत राखिएका छन्। धेरै धुवाँ फाल्ने, हर्न बजाउने र जथाभाबी चलाउने सवारीमा विशेष निगरानी गरी कारबाही गरिने डिआइजी खनालले बताए।
यसबीच ठमेल पैदल मार्ग भएसँगै काठमाडौंको अर्को व्यस्त ठाउँ असन पनि सवारीमुक्त बनाउने तयारी भइरहेको छ। यसका लागि असन क्षेत्र पर्ने काठमाडौं वडा नम्बर २५ र २७ का वडाध्यक्षका साथै स्थानीय र अन्य सरोकारवालासँग छलफल जारी छ।
‘यो स्थानीय र वडा प्रतिनिधिहरूकै चासो हो,’ खनालले भने, ‘स्थानीयले उठाएको चासोलाई ध्यान दिँदै हामीले कसरी ट्राफिक व्यवस्थापन गर्न सकिन्छ भनी स्थानीय तथा सरोकारवालासँग छलफल गरिरहेका छौं।’
असनलाई तत्काल सवारीमुक्त गर्न नसके पनि ट्राफिक व्यवस्थापनको तयारी भइरहेको उनले बताए। ‘हामी स्थानीय निकायसँग असनका कुन बाटा एकतर्फी, पार्किङ निषेध र स्तरोन्नति गर्ने भन्नेमा छलफलको चरणमा छौं,’ खनालले भने।