रानीपोखरी कहिले तयार होला भनेर पर्खिरहनुभएको छ भने त्यो पर्खाइ बेकार छ। फेरि पोखरीकै स्वरुपमा ल्याउने काम अघि बढ्नु त कता हो कता, सम्बन्धित निकायले अहिलेसम्म प्रक्रियासमेत थालेको छैन।
त्यसो भए अहिले के भइरहेको छ त?
गत वर्ष वैशाख १२ गते राष्ट्रपतिबाट शिलान्यास गराएर पुनर्निर्माण थालनी गरिए पनि यो विवादमा अल्झियो। पुरातात्विक महत्वको सम्पदालाई महानगरपालिकाले सामान्य तवरबाट उभ्याउन खोजेको थियो। यसमा विरोध जनाउँदै स्थानीय बासिन्दा, युनेस्को र पुरातत्व विभागसम्म जाग्यो।
पोखरीबीचको बालगोपालेश्वर मन्दिर बनाउने जिम्मा पुरातत्व विभागले लिएको छ। महानगरपालिका वरिपरि बगैँचा बनाउने काममा सीमित छ। जुन पोखरी फेरि जलमग्न हेर्ने सर्वसाधारणको चाहना छ, त्यसको निम्ति भने अहिलेसम्म टेन्डर गर्ने सुरसारधरि छैन।
भर्खरै मन्दिरको काम पाएको पुरातत्वले आफ्नो दायित्व अघि बढाइरहेको दावी गरेको छ। मन्दिरको जग तयार भइसकेको र परम्परागत झ्यालढोका बनाउने काम भइरहेको पुरातत्वले जनाएको छ।
महानगरपालिकाको जिम्मेवारीका काम भने ठप्प देखिन्छन्। रानीपोखरी विषयमा प्रश्न सोध्न जाने पत्रकारसँग नगर प्रमुख, विभागीय हाकिम पन्छिन्छन्। उता बगैँचाको ठेक्का पाएका ठेकेदारले अहिलेसम्म नक्सा र डिजाइन नै महानगरबाट नपाएपछि पर्खेर बसिरहेका छन्। टेन्डरकै बेला उपलब्ध गराइएको डिजाइन परिवर्तन गर्ने सूचना पाएपछि काम रोकेर बसेको ठेकेदार अर्जुन कँडेल सुनाउँछन्।
ठेक्का पाउनेबित्तिकै पोखरी सुकाएर केही माटो उठाउने र चारैतिर तयार पारिएका रिटेनिङ वालबाहेक काम ठप्प छ। नयाँ डिजाइन कहिले आउँछ, ठेगान छैन।
अहिले रानीपोखरीको एक कुनामा डोजर छ। आफूलाई पेटी ठेकेदार बताउने प्रकाश लामा त्यहाँ रुँगेर बसिरहेका देखिन्छन्।
‘म काम गरेर आएको कतारमा यस्ता पोखरी भइदिएका भए दिनरात मान्छे खटाएर तुरुन्तै तयार पारिसक्थेँ,’ उनी दिक्क मान्दै भनिरहेका थिए, ‘यहाँ त ठेक्का सुरु भएदेखि नै बसिरहँदा पनि अहिलेसम्म के हुन लागेको भन्ने पत्तो पाइरहेको छैन।’
भूकम्पका कारण रानीपोखरीको बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो। यो पुनर्निर्माण क्रममा महानगरले सावधानी नअपनाएकै कारण यस्तो परिस्थिति सिर्जना भएको हो।
१७ औं शताब्दीमा राजा प्रताप मल्लले रानीपोखरी बनाएका थिए। छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन ६२ रोपनी १३ आना २ पैसा जग्गामा यो पोखरी तयार पारिएको हो।
यो पनि पढ्नुहोस्:
जनक शिक्षा ‘स्ट्यान्डबाई’, मतपत्र छपाइ सुरू गर्न प्रमुख आयुक्त आफैं जानेसाढे तीन सय वर्षअघि नेपाल संवत् ७८५ मा निर्माण सुरु भएको रानीपोखरी जम्मा ५ वर्षमै पूरा भएको थियो। प्रविधिविहीन अवस्थामा त्यति कम समयमै निर्माण पूरा भएकोमा अहिले पर्याप्त प्रविधि र श्रोत हुँदा पनि साढे दुई वर्षसम्म यसको थालनीसम्म नहुनु दुखद कुरा हो।
प्राचीन काठमाडौंको मुख्य प्रवेशविन्दुभन्दा ठीक बाहिर तयार पारिएको यो पोखरीको लम्बाइ १८० र चौडाइ १४० मिटर छ। सुन्दरता मात्र नभई ऐतिहासिक र पुरातात्विक महत्व बोकेको पोखरीबारे राजा प्रताप मल्लले नै तयार पारेको तीनवटा शिलालेखसमेत छन्।
शिलालेखअनुसार प्रताप मल्लले तीन–तीन जना ब्राह्मण, प्रधान र खस मगरलाई प्रत्यक्षदर्शी राखेर भारतीय उपमहाद्वीपका ५१ वटा महत्वपूर्ण स्थानबाट ल्याएको जल पोखरीमा हालेका थिए। यस्तो महत्वको स्थान पुनर्निर्माणमा महानगरले भने सोधपुछसमेत गरेको छैन।
‘यस्तरी तयार गरिएको पोखरीको माछा उठाउनेदेखि नालीमा पानी बगाइदिनेसम्मको काम हामीलाई सोध्दा पनि नसोधी गरियो,’ पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘बदमासी...।’
दाहालका अनुसार यस्तो काम पुरातत्व र इतिहासका सम्बन्धित मान्छेलाई जानकारी दिँदै अघि बढाउनुपर्थ्यो।
‘हामीले दिएको नक्सा बेवास्ता गर्दै मन्दिरसमेत ठड्याउन थालिसकेका थिए,’ दाहाल भन्छन्, ‘हामीले मन्दिर खोस्यौं र पुनर्निर्माण प्राधिकरणसँग पैसा लिएर अब आफैं बनाउन थालेका छौं।’
मन्दिर र बगैँचाको ठेक्कामा भने संयोग नै छ। महानगरपालिकाले यी दुई कामका लागि ठेक्का दिएको ‘वर्ल्डवाइड कँडेल केएनकेजी’ कम्पनीले पुरातत्वबाट पनि मन्दिर बनाउने ठेक्का पाएको छ। पुरातत्व विभागबाट मन्दिरका लागि करिब एक करोड ४० लाख रुपैयाँको टेन्डर आह्वान भएकामा आफूहरुले एक करोड ३० लाखमै सकारेर जिम्मा पाएको निर्देशक अर्जुन कँडेल सुनाउँछन्।
सुरुमा महानगरपालिकाले मन्दिर र बगैँचासहित दस करोडको टेन्डर आह्वान गरेको थियो। कम्पनीले छ करोड २९ लाख रुपैयाँमा सकारेको थियो। त्यसैमध्ये मन्दिरको काम पनि सिध्याउनुपर्ने थियो। अब मन्दिरको काम महानगरबाट पुरातत्वको हातमा गएपछि आफूले सुरुमा बनाएका पिलर भत्काउनु परेको कँडेलले सुनाए। उनका अनुसार त्यसको क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ महानगरसँग माग गरिसकिएको छ।
पुरातत्वका महानिर्देशक दाहालका अनुसार रानीपोखरीमा पहिलेकै स्वरुपमा वालगोपालेश्वरको मन्दिर बनाइनेछ। मन्दिरको पुरानै जग बलियो भएकाले त्यसमाथि सुर्खीचुनाको एकतले मन्दिर बनाउन प्राविधिक हिसाबले राम्रै हुने उनको दावी छ। सुर्खीचुनाबाट तयार हुने बज्र जति पुरानो हुँदै गयो उति बलियो हुँदै जाने उनले सुनाए।
शिवलिंग राखे पनि कृष्ण (बालगोपालेश्वर) को नाम पाएको यो मन्दिर धेरैपटक पुनर्निर्माण भइसकेको देखिन्छ। विसं १९५१ मा जंगबहादुर राणाले छाने शैलीको साटो गुम्बज शैली दिँदै यसको वरिपरि पर्खाल लगाएका थिए। त्यसपछि ९० सालको भूकम्पमा भत्किएपछि जुद्धशम्शेरले पुनर्निर्माण गराए। यसको ठूलो पुनर्निर्माण २०१३ मा भएको थियो। पछिल्लोपटक राजा वीरेन्द्रको राज्याभिषेक बेला २०३१ मा रानीपोखरी सजाइएको थियो।
काठमाडौंकै शोभा बढाउने यो पोखरीको सुन्दरता प्राचीनकालमा तिब्बत र भारत छिचोल्ने यात्रीहरुले लेखेका दस्तावेजमा वर्णित छ। ध्रुवचन्द्र गौतमको ‘कट्टेलसरको चोटपटक’ का नायकदेखि सम्राट उपाध्यायको ‘बुद्धज् अर्फान’ का पात्रसम्मले यो पोखरीको फन्को लगाइरहेका भेटिन्छन्।
पछिल्लो समय झारपातले भरिएको चौरमा परिणत रानीपोखरी देख्नेको मन अमिलिन थालेको छ।
मन्दिर निर्माण असार मसान्तमा सिध्याउनुपर्ने भए पनि ठेकेदार कँडेल वैशाखमै तयार गरिसक्ने बताउँछन्। ‘महानगरले सुरुमा जिम्मा दिँदा यो मन्दिरको पुरातात्विक महत्वबारे केही भनेन। रोडा, सिमेन्ट र छडबाटै बनाउने स्पष्ट उल्लेख थियो,’ उनले भने, ‘नत्र पशुपति क्षेत्रलगायत पुरातात्विक महत्वका काम ठेक्का लिइसकेका हामीले अहिलेसम्म भनेजस्तो मन्दिर तयार पारिसक्थ्यौं।’
कँडेलका अनुसार अब झ्यालढोका तयार भएपछि बाँकी काम सक्न भक्तपुरदेखि दक्ष कामदार बोलाइनेछ। महानगरले बगैँचाको डिजाइन दिएको छ महिनाभित्रै तयार पारिसक्ने उनले दावी गरे। कँडेलका अनुसार मान्छे हिँड्ने बाटोसहित बगैँचामा करिब अढाइ करोडको लागतमा विद्युतीय सजावट प्रयोग गरिनेछ। यहाँ प्रवेश गर्न महानगरले टिकट व्यवस्था गर्नेछ।
[caption id="attachment_99976" align="alignnone" width="826"]
तस्बिरः नारायण महर्जन/सेतोपाटी[/caption]
स्थानीयले भने रानीपोखरी पुनर्निर्माण क्रममा पुरातात्विक महत्व बेवास्ता गरियो भन्दै विरोध गरिरहेका छन्। त्यसैमध्येका आलोक तुलाधर भन्छन्, ‘यो महत्वपूर्ण पोखरीमा डुंगा चलाउने र डेटिङ गर्ने रिक्रिएसन पार्क बनाउनु उचित हुँदैन।’
आलोकले आक्रोश पोख्दै भने, ‘महानगरपालिकाको काम कतिसम्म माफियाकरण भएको छ भने यस्तो महत्वपूर्ण मन्दिर भत्काएर पिलर उठाइएको थियो। फेसबुकबाट सुरु भएको विरोध सडक हुँदै युनेस्को र पुरातत्व विभागले हस्तक्षेप गर्ने अवस्थासम्म पुग्यो।’
महानगरले सडकको ठेक्का दिएजस्तो यो ऐतिहासिक थलोको महत्व घटाउन खोजेपछि विरोध गरेको आलोक बताउँछन्। महानगरले बाहिरी साजसज्जाको काम मात्र गर्ने भए पनि यसलाई मनोरञ्जनको थलो बनाउन नदिने उनको भनाइ छ।
पुरातत्व विभागका महानिर्देशक दाहाल भने आफूहरु मन्दिर निर्माणमा सीमित रहे पनि सिंगो पोखरीको सरोकार राख्न नछाड्ने बताउँछन्। पार्क र अस्थायी चियापसलबाहेक अन्य निर्माणका काम त्यहाँ हुन नदिने उनले बताए।
सबैले आफूलाई जिम्मा दिएको काम समयमै सक्ने दावी गरे पनि पोखरीमा पानी कहिले हुन्छ भन्ने कसैलाई थाहा छैन। यतिबेला भने महानगरले पोखरीको दक्षिणपूर्वी कुनामा पानी चुहावट रोक्न डिल बनाउने जिम्मा दिएको ठेकेदार कँडेल सुनाउँछन्। यसैबाट काम सुरु गर्ने उनले बताए।
महानगरका सहायक प्रवक्ता नुमराज ढकालका अनुसार सतहमै देखिने कामभन्दा पोखरीको निम्ति गरिने काम बेग्लै भएकाले काम सुरु गरिसकेपछि ‘भेरिएसन’ आएर ढिलाइ भइरहेको छ। त्यसैअनुसार लागत पनि बढ्दै गएको उनले बताए।
बालगोपालेश्वर मन्दिर निर्माणमा पनि पुरातत्वसँग अनुमति लिएर थालेको भए सहज हुने उनको भनाइ छ। पुरातात्विक महत्वको मन्दिरमा हात हाल्नुअघि सामान्य कर्मचारी र विद्यार्थीहरुको कागजातलाई आधार मान्दा यस्तो परिणाम भएको उनले बताए।
महानगरले करिब ३५ लाख रुपैयाँमा बनाउन खोजेको मन्दिर अब पुरातत्वमार्फत् एक करोड ३० लाखमा बन्नेछ। ‘यो काम अघि बढाउन इन्जिनियर र कन्सल्टेन्टको एउटा विशेष टोली नै बनाउने निधोमा पुगेका छौं,’ ढकाल भन्छन्, ‘उक्त टोलीले त्यहीँ अफिस खोलेर काम पूरा गर्छ।’
त्यही टोलीले पोखरीलगायत बाँकी रहेको काम पनि प्याकेज बनाएर टेन्डरमार्फत् अगाडि बढाउने जानकारी उनले दिए। यस्ता टोली परिचालन निम्ति अर्को थप छ–सात करोड बजेट छुट्याउने तयारी भइरहेको ढकाल बताउँछन्।