दीपक बोहराले यहाँ जारी बीडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने रेकर्ड कायम गरेका छन्।
निङ्गलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टोलीबाट १९औँ संस्करण खेल्दै उनले व्यक्तिगत १४५ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन्।
घरेलु मैदानमा बोहराले ५६ बल खेल्दै सात छक्का र २० चौका प्रहार गरे। उनले ४१ बलमा शतक बनाए। यसअघि बीडीसीए कपमा सर्वाधिक रन बनाउने रेकर्ड निङ्गलाशैनी क्रिकेट क्लबकै गजेन्द्र बोहराको नाममा थियो।
गजेन्द्रले बीडीसीए कपको १७ औँ संस्करणमा ५५ बलमा १४३ रन बनाएका थिए।
जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टका अनुसार दीपकले विद्यालयस्तरीय यू–१६ राष्ट्रिय प्रतियोगिता, सुदूरपश्चिममा सम्पन्न मुख्यमन्त्री कप र आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता खेलिसकेका छन् ।
उनी तीन वर्षदेखि काठमाडौंस्थित हिमालयन क्रिकेट एकेडेमीमा आवद्ध छन्। पन्ध्र वषीय दीपक दाँया हाते ब्याट्सम्यान हुन्।
शनिबार सुम्पन्न खेलमा निङ्गलाशैनीले ६ विकेटको क्षतिमा २० ओभरमा ३०६ रन बनायो। उसका लागि प्रकाश नाथ र खडक बोहराले ४०÷४० रन तथा वीरेन्द्र नाथले २९ रन बनाए।
तीन सय सात रनको लक्ष्य पछ्याएको जनसेवा क्रिकेट क्लबले १८ दशमलव चार ओभरमा ११६ रन मात्र बनायो।
दीपकले बनाएको रेकर्डले यहाँका अन्य खेलाडीसमेत उत्साहित भएको क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए।
जिल्ला क्रिकेट सङ्घले २०५८ सालदेखि निरन्तर बीडीसीए कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
(रासस)