हङकङमा जारी फेयरब्रेक आमन्त्रण २०२३ क्रिकेट टी-२० प्रतियोगितामा नेपालकी कप्तान रूबिना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गरेकी छिन्।
रूबिनाले बार्मी आर्मीका लागि सफायर्सविरुद्धको खेलमा अलराउन्ड प्रदर्शन गर्दा टिमले ६१ रनको जित निकालेको छ।
पहिले ब्याटिङ गरेको बार्मीले २० ओभरमा ८ विकेट गुमाएर १६८ रन जोड्यो।
उसका लागि लाउरा वुल्भर्टले ४९ रन जोड्दा रूबिनाले नटआउट ३२ रन जोडिन्। रूबिनाले २५ बलमा १ चौका र २ छक्का प्रहार गरिन्।
१६९ रनको लक्ष्य पछ्याएको सफायर्स १५.५ ओभरमा १०७ रनमै अलआउट भयो।
सफायर्सलाई सस्तैमा रोक्ने क्रममा बार्मीकी रूबिनाले ५ विकेट लिइन्। उनले चार ओभरमा १ मेडन फ्याँक्दा ११ रन मात्र खर्चिइन्। उनी फेयरब्रेकको यो सिजनमा पाँच विकेट लिने पहिलो खेलाडी बनिन्। यस्तै उनी फेयरब्रेकमा पाँच विकेट लिने पहिलो एसोसिएट राष्ट्रको खेलाडी समेत बनिन्।
रूबिनाले सफायर्सका शीर्ष ६ ब्याटरमध्ये चार जनालाई आफ्नो सिकार बनाएकी थिइन्। उनी खेलको प्लेयर अफ दि म्याच समेत भइन्। उनले पाँच विकेट लिनु आफ्नो र फ्यानका लागि महत्वपूर्ण रहेको खेलपछि बताइन्।
प्रतियोगितामा बार्मी सेमिफाइनलमा पुगिसकेको छ। प्रतियोगितामा बार्बी आर्मी र टोनेडससहित वारियर्स, स्पिरिट, साफायर्स र फाल्कन्स सहभागी छन्।
टोनेसडसमा नेपालकी अलराउन्डर सीता रानामगर आबद्ध छिन्। टोनेसडसले भने पाँच मध्ये चार खेलमा हार बेहोर्दा सेमिफाइनल पुग्न असफल भएको छ।
नेपालका दुई खेलाडीको पारिश्रमिक कम्तिमा ५ हजार अमेरिकी डलर हुनेछ। खेलाडीले खेलको थप भत्ता पनि पाउनेछन्। दुवैले अघिल्लो सिजनको प्रतियोगितामा सहभागिता जनाएका थिए।
आइसिसीले स्वीकृत गरेको प्रतियोगितालाई लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनी फेयरब्रेक ग्लोबलले निजी रूपमा सञ्चालन गर्दै आएको छ। २८ देशका कुल ८३ खेलाडी ६ टिममा आबद्ध छन्।
अमेरिका क्रिकेटसँगको सहकार्यमा आयोजना गरिएको २०२३ को लागि एक अतिरिक्त प्रतियोगिताका खेलहरू १५ देखि ३० सेप्टेम्बर २०२३ मा अमेरिकामै खेलिनेछ।