जनकपुरधाममा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगिताबाट काठमाडौं टिम बाहिरिएको छ।
मंगलबार पोखरा र काठमाडौंबीच खेल भएको थियो। दुई विकेटले अगाडि भए पनि काठमाडौं रन-रेटका आधारमा प्रतियोगिताबाट बाहिर भएको हो।
यसअघि सोमबार काठमाडौं पाँच रनले सप्तरीसँग पराजित भएको थियो। मंगलबारको खेलमा पोखरा र काठमाडौंबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। अन्तिम बलमा काठमाडौंले लक्ष्य पूरा गरेको थियो।
टस जितेर पोखराले ब्याटिङ रोजेको थियो। पोखराले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय १९ रनको लक्ष्य काठमाडौं समक्ष प्रस्तुत गरेको थियो।
पोखराका लागि किरण पौडेलले सार्वधिक २२ बलमा २९ र सन्दिप खत्रीले ११ बलमा १९ रन बनाए।
काठमाडौंका लागि बलिङ गरेका गजेन्द्र बोहराले ३, इशान पाण्डेले २ र मोहमद हुसैनले २ विकेट लिए।
जवाफी ब्याटिङमा आएका काठमाडौं टिमको सुरूआत राम्रो भए पनि पछि कमजोर देखिएको थियो।
काठमाडौंका लागि गजेन्द्र बोहराले उत्कृष्ट ब्याटिङ गर्दै ३१ बलमा ६३ रन र इशान पाण्डले २८ बलमा २० रनको योगदान दिए।
पोखराका लागि बलिङ गरेका कमल थापाले ३, नितेश गिरीले २ र सुवास भण्डारीले १ विकेट लिएका थिए।
यस खेलको म्यान अफ द म्याच पोखराका गजेन्द्र बोहरा घोषित भएका थिए।
बुधबार बिहान सप्तरी र पोखराबीच सेमिफाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छन्।
यस्तै मंगलबार भएको पहिलो खेलमा ५६ रनले पर्सालाई हराउँदै विराटनगर सेमिफाइनलको यात्रा तय गरेको छ।
प्रतियोगितामा १२ वटा टिम सहभागी छन् जसमध्ये धनुषा, बारा र विराटनगर सेमिफाइनलमा पुगिसकेका छन्।
सेमिफाइनलमा पुग्न बुधबार बिहान सप्तरी र पोखराबीच प्रतिस्पर्धा हुने छ।