दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-२० प्रतियोगिता अन्तर्गत समूह ‘ए’ का खेलहरू सोमबार सकिएका छन्।
सोमबार सम्पन्न समूहको अन्तिम खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बल (एपीएफ) ले लुम्बिनीलाई हराउँदै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्यो। पराजित लुम्बिनी पनि समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल पुग्यो।
अब सेमिफाइनलमा एपीएफले समूह ‘बि’ को उपविजेतासँग तथा लुम्बिनीले समूह ‘बि’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। मंगलबारदेखि प्रतियोगिताको समुह ‘बि’ अन्तर्गतका खेल हुनेछन्।
लमही क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपीएफले लुम्बिनीमाथि ६१ रनको जित निकाल्दै समूह विजेताका रूपमा अन्तिम चारमा प्रवे गरेको हो।
पहिले ब्याटिङ गर्दै दिएको १२३ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँ ६१ रन मात्र बनाउन सक्यो।
लुम्बिनीकोक लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ तथा सरस्वती पुनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपीएफको बलिङमा अफ स्पिनर करुणा भण्डारीले सर्वाधिक ३ विकेट ( ४-०-१६-३ ) हात पारिन् भने सोनु खड्का ( ४-०-१५-१ ) र रेखा रावल ( ३-१-५-१ ) को नाममा १/१ विकेट रह्यो।
यसअघि टस जितेर ब्याटिंग रोजेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२२ रन बनाएको थियो।
उसका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन प्रहार गरिन् जसले ५४ बलमा १ चौका हिर्काइन्। यस्तै इन्दु बर्माले ३० बलमा ४ चौका मद्दतले २८ रन, राजमती ऐरीले ११ रन तथा सरिता मगरले अविजित १० रन बनाइन्।
पहिलो विकेटको लागि ज्योतिले राजमती ऐरीसंग ४४ रनको साझेदारी गरेकी थिईन्। नवौं ओभरमा राजमतीलाई नेरी थापाले बोल्ड गरेपछि ज्योतिले इन्दुसँग दोस्रो विकेटको लागि ६० रन जोडिन्। १८ औं ओभरमा इन्दुलाई कृतिका मरासिनीले बोल्ड गरिन्। लगत्तै ओभरमा ज्योतिलाई नेरीले बोल्ड गरिन्।
लुम्बिनी प्रदेशको बलिङमा कप्तान नेरी थापाले सर्वाधिक २ विकेट ( ४-०-२६-२ ) हात पारिन्। सरस्वति पुन ( ४-०-२२-१) र कृतिका मरासिनी ( ४-०-२३-१ ) ले समान १ विकेट हात पारिन्।
प्रतियोगिता अन्तर्गत समूह ‘ए’ को आज सम्पन्न पहिलो खेलमा प्रदेश-२ ले कर्णाली प्रदेशलाई १४३ रनले हराउँदै सान्तवना जित निकाल्यो।
मंगलबार समूह ‘बि’ अन्तर्गतको पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले तथा दोस्रो खेलमा दिउँसो १ बजे बागमती प्रदेश र प्रदेश-१ ले प्रतिस्पर्धा गर्नेछन्।
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा विभागीय टोली एपीएफ र ७ वटा प्रदेश गरि कुल ८ टिम सहभागिता छ।
समुह ‘ए’ मा लुम्बिनी, कर्णाली, एपीएफ र प्रदेश-२ रहेका छन् भने समूह ‘बि’ मा प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेश छन्।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २१ हजार तथा उत्कृस्ट ब्याटिङ र बलिङ गर्ने खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।