दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपिएफ र प्रदेश १ फाइनलमा भिड्ने भएका छन्।
शनिबार भएको दोस्रो सेमिफाइनल खेल अन्तर्गत पहिलो खेलमा एपिएफले सुदूरपश्चिम र दोस्रो खेलमा प्रदेश १ ले घरेलु टोली लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनलमा भेट्ने निश्चय गरेका हुन्।
उपाधिका लागि आइतबार बिहान ११ बजे प्रदेश १ ले विभागीय टोली एपिएफको सामना गर्ने भएको छ।
शनिबारको दोस्रो खेलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगिताको फाइनल पुगेको हो।
खेलमा लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको विजयी लक्ष्यलाई प्रदेश १ ले ८.५ ओभरमा बिना विकेट गुमाएर पूरा गरेको हो।
जसअन्तर्गत टिमका लागि काजल श्रेष्ठले २२ तथा कप्तान रुविना क्षेत्रीले २६ रनको योगदान गरिन्। त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४.१ ओभरमा अलआउट हुँदै ५२ रनमा सीमित हुन पुगेको थियो।
लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाइन्। उनीबाहेक अन्य खेलाडीहरूले दोहोरो अंक समेत जोड्न सकेनन्।
३० बलको सामना गरेकी नितुले १ चौका समेत प्रहार गरेकी थिइन्।
बलिङतर्फ प्रदेश १ की संगीता राई र निग्मा तामाङले २–२ विकेट हात पारे। कप्तान रुविना क्षेत्रीले १ विकेट लिइन्।
त्यसअघि शनिबार बिहानको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई विभागीय टोली एपिएफले शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपिएफ प्रतियोगिताको फाइनल पुगेको हो।
फाइनल पुग्ने क्रममा सुदूरपश्चिमले दिएको ६१ रनको विजयी लक्ष्यलाई एपिएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो।
टिमलाई जित दिलाउन ओपनर ब्याटर ज्योति पाण्डेले अविजित रहँदै २६ रनको योगदान गर्दा सरिता मगरले पनि अविजित रहँदै १९ रन बनाइन्। त्यसअघि ४.४ ओभरमा टिमको स्कोर १४ रन हुँदा कविता कुँवरको बलमा क्याच आउट हुन पुगेकी कप्तान सीता राना मगरले ७ रन बनाएकी थिइन्।
खराब मौसमका कारण १६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो।
टिमका लागि उक्त रन बनाउने क्रममा उसका लागि मध्य क्रममा ब्याटिङ गर्न आएकी कविता जोशीले सर्वाधिक ठूलो पारी खेलिन्। अविजित रहेकी उनले २१ बलको सामना गर्दै २ चौकासहित २२ रनको योगदान गरेकी थिइन्।
त्यस्तै टोलीका लागि ओपनर ब्याटर रेवती धामीले १२ रन तथा कविता कुँवरले ९ रन बनाएकी थिइन्। बलिङतर्फ एपिएफका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन्।
४ ओभर बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा मात्र ११ रन खर्चिएकी थिइन्। त्यस्तै कप्तान सीता राना मगरले पनि १ विकेट लिन सफल भएकी थिइन्।
प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ। उपविजेता टोलीले ३ लाख प्राप्त गर्ने छ।
त्यस्तै सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्ने भएका छन्। त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २१ हजार , उत्कृष्ट ब्याटरले १० हजार , उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्ने छन्।