भारतीय क्रिकेटर सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जानकारी दिएको छ
गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्नेक्रममा ह्रदयघात भएपछि तुरून्तै पश्चिम बंगाल राज्यको राजधानी कलकत्ताको वुडल्याण्ड अस्पतालमा लगिएको थियो।
‘सौरभ गाङ्गुलीको एन्जियोप्लास्टी भएको छ र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ,’ गाङ्गुलीको उपचारमा सम्लग्न चिकित्सक सरोज मण्डलले अस्पताल बाहिर पत्रकारहरूसँग भने।
गाङ्गुली विरामी भएको खबरपछि उनलाई उपचारका लागि भर्ना गरिएको वुडल्याण्ड अस्पतालमा क्रिकेटका पूर्व कप्तानका आफन्त तथा सुभेच्छुक जम्मा हुँदा ठूलो भीड लागेको थियो।
भारतीय क्रिकेट बोर्डको नेतृत्वसमेत गरिरहेका ४८ वर्षीय पूर्व कप्तान गाङ्गुलीको अवस्था अनुगमन गर्न अस्पतालले पाँच चिकित्सकहरूसहितको एक मेडिकल टोली गठन गरेको बताइएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गांगुलीको परिवारलाई उद्धृत गर्दै भने, ‘मैले गाङ्गुलीको परिवारसँग कुराकानीका क्रममा पारिवारिक एक सदस्यले उनको अवस्था स्थिर रहेको र उपचारमा राम्रो प्रतिक्रिया मिलिरहेको जानकारी पाएको छु।’
गाङ्गुली सन् २०१९ मा सर्वसम्मतरूपमा बीसीसीआईको अध्यक्ष निर्वाचित भएका थिए। सफल खेलाडीको रूपमा उनले लामो समय भारतीय क्रिकेटको नेतृत्व गरेका थिए भने गाङ्गुलीले संयुक्त अरब इमिरेट्समा गत वर्ष सम्पन्न इन्डियन प्रिमियर लिग सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
वायाँ हातको जादुमयी खेलका लागि चिनिने गाङ्गुलीले १६ सेन्चुरीसहिच ७ हजार २ सय १२ रन को कीर्तिमान कायम गरी टेस्ट क्रिकेटबाट सन् २००८ मा विदा लिएका थिए।
उनले एक दिवसीय ३११ अन्तर्राष्ट्रिय खेलबाट ११ हजार ३६३ रनको रेकर्ड बनाएका थिए।