विभागीय टोली एपिएफलाई हराउँदै प्रदेश नम्बर एकले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० प्रतियोगिताको उपाधि जितेको छ।
डिफेन्डिङ च्याम्पियनसमेत रहेको एपिएफलाई रोमाञ्चक खेलमा ६ रनले हराउँदै प्रदेश-१ ले उपाधि जितेको हो।
लमही क्रिकेट मैदानमा प्रदेश-१ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपिएफ निर्धारित २० ओभरमा ९९ रनमा समेटियो।
एपिएफलाई रोक्न एक नम्बर प्रदेशका लागि कप्तान रूविना क्षेत्री र आलिसा खडियाले समान २-२ विकेट लिइन् भने संगीता राईले १ विकेट लिइन्।
एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन्। करूणा भण्डारीले २६ रन बनाउँदा ज्योति पाण्डेले १४ रन जोडिन्।
यसअघि टस जितेर पहिले ब्याटिङ निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको थियो।
प्रदेश-१ को ब्याटिंगमा ओपनर अप्सरी बेगमले सर्वाधिक ३५, काजल श्रेष्ठले अविजित २९ तथा कप्तान रुबिना क्षेत्रीले १८ रन योगदान दिएका थिए।
नियमित ओभर काजल श्रेष्ठको स्थानमा ओपनिंग ब्याटिङमा आएकी अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले ५८ रनको सर्वाधिक ओपनिङ साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए।
१३ औं ओभरमा रुबिना र अप्सरी दुवैलाई एपीएफ कप्तान सिता राना मगरले पेभेलियन फर्काइन्। त्यसपछि सिताले रोमा थापाको पनि विकेट लिंदै प्रदेश-१ लाई इनिंगको अन्तिममा दबाब बनाइन्। त्यसपछि तेस्रो नम्बरमा ब्याटिंग गरेकी काजल श्रेष्ठले एक किनार सम्हाल्दै अन्तिमसम ब्याटिंग गरिन्।
एपीएफको बलिंगमा कप्तान सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १७ रन खर्चिन्। करुणा भण्डारीले १ विकेट हात पारिन्।
प्रतियोगिताको समुह चरणको खेलमा एपीएफ समुह ‘ए’ को तथा प्रदेश-१ समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। एपीएफले सेमीफाइनलमा सुदूरपश्चिमलाई तथा प्रदेश-१ ले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा गरेको हो।
प्रतियोगिताको विजेता एक नम्बर प्रदेशले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेतामा चित्त बुझाएको एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै सेमीफाइनलमा पराजित सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले समान २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।