राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले बागमती प्रदेशबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
माघ २ देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने प्रतिस्पर्धाका लागि बागमती प्रदेशले ज्ञानेन्द्र र पारससहित २५ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ।
टिममा ज्ञानेन्द्र र पारससहित यु-१९ टिमका पूर्वकप्तान पृथु बाँस्कोटा, इशान पाण्डे, अदिल खान, आकाश थापा, बिबत्शु थापा, रामनरेश गिरी, नन्दन यादव, गौतम केसी सुमित झा र अरियो पौडेल छन्।
यस्तै सुवास खत्री, रिजन ढकाल, बिपिन आचार्य, पवन गोपाल श्रेष्ठ, जितेन्द्रसिंह ठकुरी, दिपेश श्रेष्ठ, तिलकराज भण्डारी, राजेश रिमाल, संघर्ष पौडेल, विशाल फुयाल, प्रतिक श्रेष्ठ, नवीन यादव र तक्षक सिम्खडा छन्।
माघ २ देखि सुरु हुने प्रतियोगिताअघि बागमती प्रदेशले १४ सदस्यीय टिम घोषणा गर्नेछ।
बागमती प्रतियोगिताको समूह 'बी' मा छ। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम छन्।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश छन्।
त्रिवि मैदानमा २ गते हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।