रुपन्देहीमा जारी लुम्बिनी प्रदेश स्तरीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि रुपन्देही र बाँके भिड्ने भएका छन्।
बुधबार भैरहवामा सम्पन्न खेलमा पाल्पालाई १५८ रनको भारी अन्तरले हराउँदै रुपन्देही समूह ‘ए’बाट फाइनलमा पुगेको हो।
बाँके समूह ‘बी’ बाट यसअघि नै फाइनलमा पुगेको छ। रुपन्देहीले बिहीबार समूह ‘बी’को विजेता बाँकेसँग प्रतिस्पर्धा गर्नेछ।
बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ४ विकेटको क्षतिमा २५४ रन बनायो। उसका लागि शौरभ खनालले ८४, प्रकाश केसीले नटआउट ७४, कृष्ण कार्की नटआउट ३३ र सन्दीप रजालीले २२ रनको योगदान गरे।
बलिङमा पाल्पाका शिव शर्माले २, नरेश कुमार सार्की र सुरेश गोदारले १/१ विकेट लिए।
जवाफी ब्याटिङ गरेको पाल्पाले ३६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर जम्मा ९६ रन मात्रै बनायो। उसका लागि रुपेश बश्याल (ए)ले ४१, रुपेश बश्याल (बी)ले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
उसलाई सस्तैमा समेट्न बलिङमा रुपन्देहीका नितेष थापा र अनिल खरेल ३/३ तथा धनबहादुर साहीले २ विकेट लिए। रुपन्देहीका शौरभ खनाल म्यान अफ द म्याच भई पुरस्कृत भए।
यसअघि मंगलबार दाङको लमहीमा भएको समूह ‘बी’ को खेलमा बांकेले दाङलाई ७ विकेटले पराजित गर्दै समूह ‘बी’ बाट फाइनलमा प्रवेश गरेको हो ।