कप्तान विनोद भण्डारी र राजेश पुलामी मगरको उत्कृष्ट प्रदर्शनमा राजधानीमा जारी चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा आर्मीले विजयी सुरूवात गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा गण्डकीलाई ९८ रनले हराउँदै विभागीय टोली आर्मीले विजयी सुरुवात गरेको हो।
आर्मीले दिएको २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा विकेट गुमाउँदै १ सय ८९ रनमा समेटिएको थियो। गण्डकीका लागि समिर कँडेलले अर्धसतक बनाउँदा विपिन खत्रीले ३७ रन जोडेका थिए।
गण्डकीका युवा ब्याट्सम्यान समिर कंडेलले ९० बलमा ५ चौका सहित सर्वाधिक ५० रनको योगदान दिएका थिए।
यस्तै अर्जुन कुमालले ३६ रन बनाउँदा दीपक डुम्रेले २६ रन बनाए। यसहेक अन्यले राम्रो रन जोड्न सकेनन्।
विष्णु पाण्डेले १२ रन बनाए।
गण्डकीलाई सस्तैमा समेट्न आर्मीका लेग स्पिनर राजेश पुलामी मगरले ५ विकेट लिए।
९ ओभरमा २ मेडन सहित २५ रन खर्चिएका पुलामीले ५ विकेट लिएका हुन्। यस्तै भिम सार्कीले ७ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्द र रोहित कुमार पौडेलले १–१ विकेट लिएका थिए।
यसअघि आर्मीले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको थियो।
आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक प्रहार गरे। उनले ७६ बलमा नटआउट १११ रन जोडे। पहिलो खेलमा शतक प्रहार गरेका विनोदले ९ चौका र ५ छक्का हिर्काए।
अन्तिम बलमा आउट भएका लोकेश बमले ३० बलमा ४२ रन जोडे। उनले ३ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि ओपनर हरिकृष्ण झाले १४ रन तथा उनका ओपनिङ पार्टनर राजु रिजालले ४५ रनको योगदान दिए।
रोहितकुमार पौडेल १० रनमा आउट भएका थिए भने भीम सार्कीले १५ रन बनाए।
राजेश पुलामी मगरले ५२ बलमा ४ छक्काको मद्दतमा ३८ रन जोडे।
बलिङमा गण्डकीका विशाल पौडेल र बिपिन खत्रीले २-२ विकेट लिए। दिपेश खत्री र चन्द्र पौडेलको नाममा १-१ विकेट रह्यो।