सचिन तेन्दुलकरका छोराले मुम्बईको सिनियर टोलीबाट डेब्यु गरेका छन्।
भारतमा जारी सैयद मुश्ताक अली ट्रफी टी-२० प्रतियोगिताअन्तर्गत शुक्रबार अर्जुनले हरियाणाविरूद्ध मुम्बईबाट डेब्यू गरेका हुन्।
उनले आफ्नो डेब्यू म्याचमै विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन्। ३ ओभर बलिङ गरेका उनले ३४ रन दिएर महत्वपूर्ण एक विकेट लिएका हुन्।
२१ वर्षिय अर्जुनले हरियणाका ओपनर चैतन्य विश्नोईको विकेट लिए। ब्याटिङमा मौका नपाएका उनले ३ ओभर बलिङ गरेका हुन्।
प्रतियोगिताअन्तर्गत मुम्बईविरुद्ध हरियाणा ८ विकेटले विजयी भएको छ ।
मुम्बईले दिएको १ सय ४४ रनको लक्ष्य हरियाणाले १७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि हिमांशु राणाले ७५, शिवम् चौहानले अविजित ४३ रन बनाए। यस्तै अर्जुन चप्रनाले १९ रन बनाउँदा चैतन्यले ४ रन जोडेका थिए। बलिङमा अर्जुन तेन्दुलर र शाम्स मुल्नीले समान एक/एक विकेट लिए।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो। उसका लागि अर्थव आकोलेकरले ३७, यशस्वी जैसवालले ३५, सरफराज खानले ३०, धवल कुलकर्णीले १३ रन बनाए।
मुम्बईका कप्तान सूर्यकुमार यादव, सिद्धेश लाड, शिवम दुबे र साम्स मुन्ली भने हरियाणाविरुद्ध शून्यमै आउट भए। अर्जुनले बल खेल्ने मौकै पाएनन्।
बलिङमा हरियणाका लागि जयन्त यादवले ४, अरूण चप्रनाले ३, युजवेन्द्र चहल र राहुल तेवटियाले एक/एक विकेट लिए । जारी प्रतियोगितामा समूह ‘इ’मा रहेको हरियाणाको यो लगातार तेस्रो जित हो। मुम्बईको भने यो लगातार तेस्रो हार हो।
अर्जुनको सिनियर टोलीमा डेब्यूसँगै आइपीएल खेल्ने सम्भावना देखाएका छन्।
अर्जुन तेन्दुलकर १९ वर्षको उमेरमै भारतको १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए।