विकेटकिपर आशिफ शेखले अर्धसतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कम पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार भएको खेलमा एपिएफले प्रदेश नं १ लाई १ सय ३५ रनले हराउँदै सानदार जित निकालेको हो।
२ सय ४४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश नं १ खुलेर ब्याटिङ गर्न सकेन । बलियो एपिएफका बलर सामु प्रदेश १ निरिह बन्न पुगेको थियो । ओपनरद्वय दिपक पासवान र मिनास थापाले क्रमश १३ र १८ जोडे । फिर्दोसले १७ रनको पारी खेल्दा दिपेश कंडेलले १६ रन जोड्दा जोशक खड्का १२ रनमा नटआउट रहे प्रदेश १ का ६ ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा अभिनास बोहोराले सर्वाधिक ३ विकेट हात पार्दा कमल ऐरी, किशोर महतो र भुवन कार्कीले समान २/२ विकेट आफ्नो नाममा लेखाए । कप्तान शरद भेषवाकरले एक विकेट हात पारे ।
यसअघि टस हारे पहिला ब्याटिङको निम्तो पाएको विभागीय टोली एपिएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४३ रन जोड्न सफल भएको थियो । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा एपिएफका लागि ओपनरद्वय आशिफ शेख र सुवास खकुरेलले ७१ रनको सर्वाधिका साझेदारी गरे । आशिफले ५९ रनको अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेको आशिफले ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।
आशिफलाई साथ दिएका सुबासले ४१ बलमा १९ रन जोडेर पेभेलियन बाटो फर्किँदा कप्तान शरद भेसावकरले ३९ बलको समाना गर्दै २० को योगदान गरे । प्रदीप ऐरीले ७ रन बनाउन १४ बलको सामना गर्दा एक चौका प्रहार गरे । यस्तै सुमित महर्जन २० बलमा १ चौकासहित १४ रन बनाएर आउट हुँदा सन्दीप जोराले ३९ बलमा चार चौकासहित ३० रन जोडे । बसन्त रेग्मीले ५२ बलमा चार चौका र दुई छक्कासहित ४० तथा भुवन कार्कीले ७, कमल ऐरीले ५, किशोर महतो २३ बलमा २ चौकासहित १९ रनको पारी खेले । अविनाश बोहरा ६ रनमा अविजित रहे ।
प्रदेश नम्बर १ का लागि दिपेश कँडेलले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै हेमन्त राईले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै श्रावण यादवले ६ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए। फिर्दोअन्सारीले १० ओभरमा ४० रन खर्चिएर २ विकेट लिँदा जोशक खड्काको नाममा एक विकेट रह्यो ।
प्रतियोगितामा आइतबार दुई खेल हुनेछन् । मूलपानी क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णालदी प्रदेशसँग प्रतिस्पर्धा गर्दा कीर्तिपुरको त्रिवि मैदानमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले बाग्मती प्रदेशसँग खेल्ने छ । नेपाल क्रिकेट संघको आयोजनामा तीन विभागीय र सात प्रदेशका टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता माघ १० गते सम्म सञ्चालन हुने छ ।