प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब १११ रनमै अलआउट भएको छ।
समूह 'बी' अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लबलाई बागमती प्रदेशले २९.३ ओभरमा १११ रनमै अलआउट गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले २१-२१ रन जोडे। त्यसअघि ओपनरद्वय सुनील धमला र कुशल भुर्तेल १७-१७ रनमा आउट भए।
अमित श्रेष्ठ ६ रन, अनिल साह र पवन सर्राफ १-१ रनमा पेभेलियन फर्के। कप्तान मञ्जित श्रेष्ठ ५ रनमा आउट हुँदा रासिद खान, सागर ढकाल र ललितनाराणय राजवंशीले १-१ रन मात्र जोड्न सके।
बलिङमा बागमतीका नन्दन यादव र तिलक भण्डारीले ४-४ विकेट लिए। यादवले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिए। भण्डारीले ७.३ ओभरमा १ मेडन राखेर १७ रन दिए।
यस्तै बागमतीका रामनरेश गिरी २ विकेट लिन सफल भए।